नारायणहिटी सङ्ग्रहालयको आधुनिकीकरण र विस्तार गरिँदैः नीतिगत स्पष्टता र पूर्वाधार विकासमा जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

नारायणहिटी सङ्ग्रहालयको आधुनिकीकरण र विस्तार गरिँदैः नीतिगत स्पष्टता र पूर्वाधार विकासमा जोड

काठमाडौँ ।

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक डा. सुरेश सुरस श्रेष्ठले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापनका लागि स्पष्ट राष्ट्रिय नीतिको आवश्यकता रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नीतिगत अभावका बाबजुद सङ्ग्रहालयको आधुनिकीकरण, अभिलेखीकरण र भौतिक सुधारका कार्यहरू अगाडि बढिरहेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक श्रेष्ठले नेपालमा सङ्ग्रहालयशास्त्र (म्युजियोलोजी) अध्ययन गरेका दक्ष जनशक्तिको उपलब्धता पर्याप्त रहेको उल्लेख गर्नुभयो । त्रिभूवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत उत्पादित जनशक्तिले सङ्ग्रहालय क्षेत्रमा योगदान दिइरहेको बताउँदै उहाँले उचित नीतिको अभावमा सोचेअनुरूपको फड्को मार्न नसकिएको स्वीकार गर्नुभयो । सङ्ग्रहालयमा रहेका ऐतिहासिक र संवेदनशील वस्तुहरूको सुरक्षा र व्यवस्थापनका लागि डिजिटाइजेसन (विद्युतीय अभिलेखीकरण) लाई प्राथमिकतामा राखिएको डा. श्रेष्ठले बताउनु भयो । ग्यालरीहरूको पूर्ण विवरण तयार भएपछि दर्शकका लागि अत्याधुनिक अडियो गाइड उपलब्ध गराइने उहाँको भनाइ छ । सङ्ग्रहालय परिसरमा रहेका ऐतिहासिक हवाई साधन (प्लेन र हेलिकप्टर) तथा पूर्वराजाहरूले प्रयोग गर्ने सवारी साधनहरूलाई मर्मत गरी प्रदर्शनीमा ल्याइएको जानकारी दिइएको छ ।

यसैगरी, दरबारको ऐतिहासिक बगैँचालाई यसको पुरानै स्वरूपमा फर्काउन ११ महिना लगाएर पुनस्र्थापना गरिएको उहाँले बताउनु भयो । सो कार्यमा दरबारकै पुरानो अनुभव भएका कर्मचारीहरूको सीप उपयोग गरिएको र यसलाई ‘जीवन्त इतिहास’ (लिभिङ हिस्ट्री) का रूपमा संरक्षण गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नारायणहिटी दरबारका थप कक्षहरू सर्वसाधारणका लागि खुला गर्ने सम्बन्धमा अध्ययन भइरहेको र ती कक्षहरूलाई प्रमाणिक आधारमा क्रमिक रूपमा खुला गरिने डा. श्रेष्ठले स्पष्ट पार्नुभयो । यस्तै, गणतन्त्र स्मारक परिसरभित्र रहेका केही संरचनाहरू (चमेना गृह र सभा हल) निर्माण कार्य पूर्ण नभएका कारण सञ्चालनमा आउन ढिलाइ भएको उहाँको भनाइ छ । शहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएका ती संरचनाहरूमा पानी चुहिने लगायतका प्राविधिक समस्या रहेकाले मर्मतसम्भार सम्पन्न भएलगत्तै ती क्षेत्रहरू पनि खुला गरिने उहाँले जानकारी दिनुभयो ।सङ्ग्रहालयले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको उहाँले बताउनु भयो । गुठी परम्परा र संस्कृति संरक्षणका लागि गुठी संस्थान र प्रत्यक्ष रूपमा गुठियारहरूसँगै सहकार्य गर्दा अझ प्रभावकारी हुने उहाँको सुझाव थियो । सङ्ग्रहालयलाई केवल प्रदर्शनी स्थलका रूपमा मात्र नभई अध्ययन र शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाहरूको रचनात्मक सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार