कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौंमा पनि फिल्म महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौंमा पनि फिल्म महोत्सव हुने

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभएको छ । फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि उहाँले उक्त भ्रमण र उपलब्धिका बारेमा शनिवार विमानस्थलमा यसबारे जानकारी गराउनुभएको हो । कार्यवाहक प्रमुख डंगोलले सिर्जनशील क्षेत्रलाई व्यवस्थित र निरन्तरता दिन काठमाडौं महानगरपालिकाले आवश्यक नीति र कार्यविधि निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

कान्सका मेयरले आयोजना गरेको विशेष स्वागत कार्यक्रम र डिनरमा सहभागी हुने क्रममा काठमाडौं फिल्म फेस्टिभलका लागि आवश्यक प्राविधिक सहयोग र सहकार्यका विषयमा समेत छलफल भएको उहाँले बताउनु भयो । यस पटकको कान्स फिल्म फेस्टिभल नेपाली सिने जगतका लागि विशेष रहेको उल्लेख गर्दै डंगोलले इतिहासमै पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको बताउनु भयो । उक्त विधामा निर्देशक अविनाशविक्रम शाहको टिमले निर्माण गरेको चलचित्रले जुरी प्राइज जित्न सफल भएकोमा उहाँले बधाई ज्ञापन गर्नुभयो ।कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डंगोलले नेपालको मौलिक पहिचान झल्कने ‘हाकु पटासी’ र परम्परागत गरगहना प्रयोग गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाले आगामी फिल्म महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न छुट्टै टोली परिचालन गरेको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा महोत्सवको तयारी भइरहेको छ । महोत्सवलाई काठमाडौंको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवद्र्धन गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलले यो भ्रमणबाट काठमाडौंलाई ‘क्रिएटिभ सिटी’ का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार