काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया शुरु गरिएको बताउनुभएको छ ।
यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न समेत नआउने चालकहरूलाई अब नछोडिने स्पष्ट पार्नुभयो । एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताउनुभयो । उहाँले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा समेत गर्नुभयो । उहाँले राजश्व खातामा गएको रकम ट्राफिक प्रहरीले मिनाहा गर्न नसक्ने भन्दै यसमा स्पष्ट हुन आग्रह गर्नुभयो । सार्वजनिक यातायातमा १० प्रतिशत खराब आचरण भएका मजदुरका कारण ९० प्रतिशत राम्रा मजदुरहरू बद्नाम भइरहेको एसएसपी अधिकारीको भनाइ छ ।
यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउनुपर्ने नियम) का कारण चालकहरूले तिब्र गतिमा गाडी कुदाउने र लुछाचुँडी गर्ने गरेको उहाँले औंल्याउनुभयो । यसको सट्टा ई–टिकटिङ र अनलाइन सिस्टममा जान व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो । बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर चलाइरहेको भेटिएको भन्दै ट्राफिक प्रहरी यसमा निकै कठोर हुने उहाँले बताउनु भयो ।





