काठमाडौँ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले सर्वसाधारण वर्गका लागि ४५ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको जनाएको हो।
कुल निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा त्यति नै संख्यामा सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत फाराम भर्न सकिनेछ। साथै ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनबाट समेत आवेदन दिन सकिने कम्पनीले स्पष्ट पारेको छ। निष्कासन छिटोमा फागुन १५ गते बन्द हुने र माग अनुसार पूरा नभएमा फागुन २६ गतेसम्म कायम रहने जनाइएको छ।
यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले सम्हालेको छ। कम्पनीले गत पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएको थियो। सो स्वीकृतिअनुसार पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरिसकिएको छ।




