काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ । मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन शुरु गरिएको हो ।
आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ । साथै कोशी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ ।
आयोगकाअनुसार फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुर्याइसक्ने लक्ष्य राखिएको छ । सामग्री प्राप्त हुने क्रम जारी रहेकाले जाँचबुझ गरी तत्काल सम्बन्धित गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिइएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । मतपत्रको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू छपाई र प्याकिङ सम्पन्न भइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १ सय ४२ वटा निर्वाचन क्षेत्रका लागि ६६ वटा जिल्लाको मतपत्र छपाई भइसकेको छ । बाँकी रहेका मतपत्रहरू आईतवारसम्ममा छपाई गरिसक्ने आयोगको तयारी छ । सूचना अधिकारी घिमिरेकाअनुसार कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्रहरू ढुवानी भइसकेका छन् । ती मतपत्रहरू आईतवार साँझसम्ममा जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बताउनुभयो ।





