काठमाडाैं । तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो त एउटा जीवित सङ्ग्रहालय हो, जहाँ नेवारी वास्तुकला र पहाडी शुन्यताले एकअर्कालाई अङ्गालेका छन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको यो विशेष अवसरमा बन्दिपुरको हावामा एउटा छुट्टै प्रेमिल सुगन्ध छ ।

यहाँको प्रेम केवल जोडीहरूमा मात्र सिमित छैन, यो यहाँका वृद्धवृद्धाको श्रद्धामा, बालबालिकाको मुस्कानमा, कलात्मक झ्यालका बुट्टाहरूमा र पुस्तौनी संस्कारमा पनि झल्किन्छ । परम्परागत हाकुपटासी र दौरा–सुरुवालमा सजिएका यी जोडीलाई हेर्दा लाग्छ, आधुनिक प्रेमले आफ्नो जरा फेरि एकपटक बन्दिपुरको पुरानो बजारमा गाडेको छ । ढुङ्गाको बाटोमा ठोक्किएका पदचापहरूले एउटै लय गुन गुनाइरहेछन् । माया भनेको केवल युवावस्थाको चञ्चलता मात्र कहाँ हो र ? उमेरको उत्तराद्र्धमा पनि हात समातेर थानीमाईको मन्दिरतिर लाग्नु नै त वास्तविक प्रेम हो । जहाँ खुट्टा थकित भएपनि एउटाको साथले अर्कोको यात्रा सहज बनाउँछ ।

बन्दिपुरको टुँडिखेलमा जब मादल र बाँसुरीको धुन गुञ्जिन्छ, तब परम्पराले नृत्य गर्न थाल्छ । यो केवल नाच होइन यो त आफ्नो माटो र संस्कृतिप्रतिको अगाध प्रेमको उत्सव हो । प्रेमका अनेकौँ रङ हुन्छन् । कसैलाई अबिरको रातोले छोप्छ त कसैलाई मुस्कानको उज्यालोले । बन्दिपुरको यो गल्लीमा आज खुशी र सामीप्यताको रङ पोखिएको छ । यी ढुङ्गा छापिएका गल्लीहरू केवल बाटो मात्र होइनन् यी त हजारौँ संवादका साक्षी हुन् ।

यहाँ गरिने स–साना भलाकुसारीमा एउटा छुट्टै आत्मीयता र भरोसा लुकेको हुन्छ । काठका कलात्मक बार्दलीहरू, जहाँबाट कहिले कसैको बाटो हेरिन्छ त कहिले गाउँको सुनसान साँझलाई महशुस गरिन्छ । यो बार्दलीले कति वटा प्रेमका प्रतीक्षा र मिलनलाई देखेको होला ? तलतिर कुहिरोले ढाकेको उपत्यका, माथि चाँदी झैँ टल्कने हिमाल । प्रकृति र मानिसको यो प्रेमिल संगम बन्दिपुरको पहिचान हो । यहाँको हरेक मोडले नयाँ उमङ्गको कथा भन्छ । बालबालिकाको यो निःस्वार्थ मुस्कानमा बन्दिपुरको भविष्य मुस्कुराइरहेको छ । उनीहरूको आँखामा रहेको यो निर्दोष प्रेम नै भोलिको संस्कृतिको आधार हो न भाषाको पर्खाल, न भूगोलको सीमा । बन्दिपुरको आतिथ्यले अपरिचितलाई पनि आफ्नै बनाइदिन्छ । यहाँ आएका पर्यटक र स्थानीयबीचको यो सद्भाव नै पर्यटनको वास्तविक सौन्दर्य हो ।

बन्दिपुरका घरका हरेक काठका बुट्टाहरूमा एउटा कलाकारको समर्पण र प्रेम कोरिएको छ । ती कलात्मक झ्यालहरूले केवल हावा मात्र छिराउँदैनन्, इतिहासका कथा पनि सुनाउँछन् । जब सूर्य अस्ताउँछ, बन्दिपुर एउटा छुट्टै जादुमयी सुनौलो रङमा रंगिन्छ । यो साँझले बितेका सम्झनाहरूलाई ताजा बनाउँदै नयाँ सपनाको ढोका खोलिदिन्छ । हातका ठेलाहरू र चाउरी परेका गालाहरूमा आफ्नो संस्कार जोगाउने दृढता छ । पुस्तौनी पेसालाई निरन्तरता दिनु पनि त आफ्नो पुर्खाप्रतिको प्रेम हो । टुँडिखेलको खुल्ला चौरमा बसेर घाम ताप्दै गरिने गफगाफले एक्लोपनलाई भगाइदिन्छ ।

यहाँको सामुदायिक एकता नै बन्दिपुरको बलियो शक्ति हो । एउटै छानोमुनि हाँसखेल गर्ने यो परिवार, जहाँ एकता र सम्मानको जगमा प्रेम अडिएको छ । बन्दिपुरका घरहरू केवल इँटा र माटोले बनेका छैनन्, यी त माया र विश्वासले बनेका छन् । भ्यालेन्टाइन डेको यो विशेष दिनमा पुरानो शहरको आधुनिक रूप । रातो गुलाव र प्रेमका कोसेलीहरूले बन्दिपुरको बजारलाई थप प्रेमिल बनाएका छन् । आखिर प्रेम त सार्वभौम छ, चाहे त्यो हिजोको होस् या आजको ।

बन्दिपुर केवल एउटा भूगोल होइन, यो त प्रेम महशुस गर्ने एउटा माध्यम हो । यहाँको ढुङ्गा–ढुङ्गामा इतिहास मुस्कुराउँछ र हावामा संस्कृतिको सुवास आउँछ । यो भ्यालेन्टाइन डेमा, हामी केवल व्यक्तिलाई मात्र होइन, हाम्रो परम्परा, प्रकृति र यो सुन्दर धर्तीलाई पनि माया गर्न सिकौँ ।

तस्बिरहरु : अनुप प्रधान





