निर्वाचन सुरक्षा र व्यवस्थापन चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन : पहाड र तराईको सुरक्षा अवस्था सामान्य | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

निर्वाचन सुरक्षा र व्यवस्थापन चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन : पहाड र तराईको सुरक्षा अवस्था सामान्य

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताउनुभएको छ ।  मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभएको हो ।

नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि गरेको उहाँको भनाइ छ । तराईका केही स्थानमा जनसंख्याको चापका कारण सामान्य हुलदङ्गा र बुथ कब्जा हुनसक्ने सम्भावना रहे पनि समग्रमा सुरक्षा स्थिति नियन्त्रणमै रहेको जिकिर गर्नुभयो । पहाडमा भने ढुवानी र निरीक्षणमा भौगोलिक कठिनाइ भएपनि शान्तिपूर्ण वातावरण देखिएको उहाँको भनाइ छ ।

उहाँले निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग नियमित समन्वय गरिरहेको र फागुनको तेस्रो सातासम्म मौसम अनुकूल रहने प्रक्षेपण गरिएकाले हिमपातको जोखिम कम रहेको बताउनुभयो । काभ्रे लगायतका जिल्लाहरूमा स्वतन्त्र उम्मेदवारहरूको प्रभाव र परम्परागत राजनीतिक अभ्यासले चुनावी वातावरणलाई थप सहज बनाएको प्रधानमन्त्रीको विश्लेषण छ ।

Leave a Reply