काठमाडाैं । नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीले छैटौं दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित श्रीलंकाको यात्रा गरेको छ । श्रीलंकाको कोलम्बोमा बिहीवारदेखि दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको महिला र पुरुष दुवै टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
दक्षिण एशियाका पाँच राष्ट्रले चुनौती प्रश्तुत गर्ने च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य लिएको छ । नेपालको पुरुष/महिला दुवै टोलीले रेगु र क्वाड्रेन्ट स्पर्धामा प्रतिष्पर्धा गर्नेछन् । नेपालका टिम व्यवस्थापकमा अक्कलबहादुर तामाङले केही समयअगाडि थाइल्यान्डमा पदक जितेको उल्लेख गर्दै यसपल्ट तयारी राम्रो भएकाले सुखद नतिजा ल्याउने लक्ष्य रहेको बताएका छन् । यो च्याम्पियनसिपपछि विश्वकपको खेल्ने तयारी रहेको उनले उल्लेख गरे । देशभरबाट खेलाडी छनोट गरेर दक्षिण एसियाली च्याम्पियनसिपको तयारी गरिएको उनको भनाइ छ ।
पुरुष खेलाडीमा दीपेशजंग थापा, रोशन तामाङ, रविन भट्टराई, राजन नेपाली र विकास कुमाल छन् । महिलामा सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन र पायल शाही छन् । नेपाली राष्ट्रिय पुरुष टोलीका सदस्य दीपेश जंग थापाले युवा र अनुभवी खेलाडीको सन्तुलन रहेकोले च्याम्पियनसिपमा सुखद नतिजा ल्याउने आशा व्यक्त गरेका छन् ।
नेपाली टोलीका अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ र प्रशिक्षकमा नरबहादुर थापा र श्यामबहादुर श्रेष्ठ छन् । नेपाली टोलीलाई यसअघि नै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बिदाइ गरेका थिए ।





