काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेण्डा स्थापित हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताउनुभयो ।
कुनैपनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उहाँले बताउनु भयो । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा ढकालले आर्थिक मुद्दाहरु छाडेर राजनीतिक दलका नेताहरु एउटाले अर्काे दललाई नराम्रो देखाउने प्रचलन बढेको बताउनुभयो ।
निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ । उहाँले अन्तरमन्त्रालयबीच समन्वयन नहुँदा धेरै समस्या पर्ने गरेको बताउनुभयो । कार्यक्रममा होटल एशोसिएशन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै बनाउने कि साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताउनुभयो ।
उहाँले निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउन नहुने बताउनुभयो । सिंहले हिजो राजनीतिक एजेण्डालाई केन्द्रमा राखेर मात्रै छलफल हुने गरे पनि आर्थिक एजेन्डालाई दलहरूले आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । मूल रूपमा पुँजीको विकास र उदयलाई सही रूपमा पहिचान नगरी मुलुकको विकास सम्भव नहुने उहाँको भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्योग, पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिनैपर्ने उहाँको भनाइ छ ।





