काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गतिविधिलाई नियन्त्रणमा ल्याउन कडाइका साथ अनुगमन गरिरहेको जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो।
आयोगले आचारसंहिताको पूर्ण पालना गराउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा विभिन्न स्रोतबाट आएको जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार तथा संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ।
तीमध्ये हालसम्म पाँच वटा स्पष्टीकरणको मात्रै जवाफ प्राप्त भएको र बाँकीको हकमा ताकेता भइरहेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा समूहको निगरानी भइरहेको आयोगको भनाइ छ। साथै गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित नियामक निकायसँग सहकार्य गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्णरूपमा क्रियाशील रहेको आयोगले जनाएको छ।
उक्त इकाइले हालसम्म पत्ता लगाएका ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचनको मर्यादा, निष्पक्षता र स्वच्छतामा प्रश्न उठ्ने कुनै पनि गतिविधि देखिएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ।





