भावनामा विस्तार हुँदै नेपालको पर्यटन, समावेशीताको नयाँ अभ्यास | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

भावनामा विस्तार हुँदै नेपालको पर्यटन, समावेशीताको नयाँ अभ्यास

tourism DEWASH

काठमाडाैं । नेपाल पर्यटन बोर्डले हालै आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सार्वजनिक तथ्यांकहरूले सन् २०२५ मा नेपाल भित्रिने पर्यटकको संख्या र उनीहरूको बसाइ अवधि दुवैमा वृद्धि भएको देखाएको छ । तर यो उत्साहजनक तथ्यांकको पछाडि अंकगणित मात्र छैन, नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन थालिएको एक ‘मौन क्रान्ति’ पनि लुकेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित ‘दिगो पर्यटन परियोजना’ ले परम्परागत पर्यटनको परिभाषा बदल्दै समावेशीताको नयाँ बाटो कोर्न सफल भएको हो।

गन्तव्यको विकेन्द्रिकरणः सगरमाथा भन्दा पर
विगत लामो समयदेखि नेपालको पर्यटन सगरमाथा (एभरेस्ट बेस क्याम्प) र अन्नपूर्ण सर्किटजस्ता स्थापित गन्तव्यहरूमा मात्र केन्द्रित रहँदै आएको थियो । तर दिगो पर्यटन परियोजनाले अब पर्यटनलाई विकेन्द्रित गर्ने रणनीति लिएको छ । परियोजना प्रमुख धर्म दवाडीकाअनुसार अब चल्तीका पदमार्गमा मात्र निर्भर नभई ओझेलमा परेका तर उच्च सम्भावना बोकेका गन्तव्यहरूको विकासमा जोड दिइएको छ ।

५० करोडको ‘अदृश्य बजार’ र बहिरा गाइड
परियोजनाले विश्व पर्यटन बजारमा रहेको ठूलो ’ग्याप’ र सम्भावनालाई पहिचान गरेको छ । तथ्यांकअनुसार विश्वमा करिव ५० करोड मानिसहरू बहिरा वा सुस्त श्रवण शक्ति भएका छन् । भाषा र संवादको कठिनाइले खुम्चिएर बसेको यो विशाल जनसंख्यालाई आकर्षित गर्न नेपालले दक्षिण एशियामै उदाहरणीय पहल गरेको छ ।

काठमाडौं र पोखरामा केन्द्रित रहेर बहिरा युवाहरूलाई ट्रेकिङ गाइड मात्र नभई बरिस्टा (कफी बनाउने) र हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । यसले एकातिर रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर विश्व समुदायमा नेपाललाई ‘बहिरा–मैत्री’ (Deaf–friendly) गन्तव्यका रूपमा चिनाउँदै छ ।

ह्विलचियरमा कला र इन्द्रेणी पर्यटन
समावेशीताको यो अभियानमा शारीरिक रूपमा फरक क्षमता भएका र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनको मूलधारमा ल्याइएको छ । ह्विलचियर प्रयोगकर्ताहरूलाई ‘कन्टेम्पररी आर्ट’ (समकालीन कला) को तालिम दिइएको छ, जसले गर्दा उनीहरू पर्यटकीय गन्तव्यमै बसेर लाइभ आर्ट सिर्जना गरी आम्दानी गर्न सक्ने भएका छन् ।
‘हाम्रा पर्यटकीय गन्तव्यहरूमा उहाँहरू बसेर आर्टमार्फत स्वरोजगार बन्न सक्नुहुन्छ भन्ने विचारले यो कार्यक्रम ल्याइएको हो र यसको नतिजा असाध्यै सुखद देखिएको छ’ दवाडीले भन्नुभयो । त्यस्तै, सीमान्तकृत मानिने लैंगिक अल्पसंख्यक समुदायलाई पनि पर्यटनमा सम्मानजनक स्थान दिने प्रयास परियोजनाले गरेको छ ।

दक्ष जनशक्ति र एकीकृत विकास
युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा परियोजनाले नेपालमै अवसर सिर्जना गर्न ¥याफ्टिङ गाइडहरूको क्षमता अभिवृद्धि र लाइसेन्सिङमा सहजीकरण गरेको छ । साथै, राष्ट्रिय निकुञ्जका नेचर गाइडहरूलाई ‘वाइल्डलाइफ फोटोग्राफी’ को तालिम दिएर पर्यटकको बसाईं लम्ब्याउने रणनीति लिइएको छ ।

पर्यटनलाई तल्लो तहदेखि नै बुझाउन देशका १ सय ५० भन्दा बढी स्कुल र कलेजमा ‘दिगो पर्यटन क्लव’ गठन गरिएका छन् । अपि हिमालजस्ता दुर्गम क्षेत्रमा केवल बाटो बनाएर मात्र नभई, स्थानीयलाई उद्यमशीलता, उद्धार र प्राथमिक उपचारको तालिम दिएर ‘एकीकृत प्याकेज’ मा काम भइरहेको छ । यसले गन्तव्यलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत पुर्याएको छ ।

पर्यटन बोर्ड र यूएनडीपीको यो सहकार्यले पर्यटन केवल घुमघाम मात्र नभई सामाजिक न्याय र आर्थिक रूपान्तरणको माध्यम हो भन्ने पुष्टि गरेको छ । अपाङ्गता भएका, सीमान्तकृत र स्थानीय समुदायको मुस्कानमा नै अबको ’समृद्ध नेपाल’ को तस्बिर कोरिएको छ ।

समावेशी पर्यटनको नयाँ बाटो

झण्डै तीन दशक अघि स्थापना भएको नेपाल पर्यटन बोर्डले केहि दिन अघि आफ्नो स्थापना दिवस मनाएको छ। तथ्यांकहरूले देखाउँछन्— सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या र बसाइ अवधि दुवै बढेको छ। तर, यो उत्साहजनक तथ्यांकको पछाडि एउटा मौन तर शक्तिशाली प्रयास लुकेको छ— त्यो हो ‘दिगो पर्यटन परियोजना’।

विगतमा एभरेस्ट र अन्नपूर्णजस्ता चल्तीका गन्तव्यमा मात्र केन्द्रित नेपालको पर्यटनलाई यो परियोजनाले विकेन्द्रित गर्न थालेको छ। भीडभाड भन्दा टाढा अपि, सैपाल, मनास्लु र कञ्चनजङ्घाजस्ता नयाँ गन्तव्यहरूको खोजी र विकासमा परियोजना केन्द्रित देखिएको छ।

नयाँ गन्तव्य मात्र होइन, परियोजनाले पर्यटन बजारमा ‘नयाँ जनशक्ति’ र ‘नयाँ उपभोक्ता’ को पहिचान गरेको छ। विश्वमा करिब ५० करोड मानिसहरू बहिरा वा सुस्त श्रवण शक्ति भएका छन्। भाषाको समस्याले खुम्चिएर बसेको यो विशाल जनसंख्यालाई नेपाल भित्र्याउन परियोजनाले नेपालमै पहिलो पटक ‘बहिरा ट्रेकिङ गाइड’ (Deaf Trekking Guide) उत्पादन गरेको छ। काठमाडौँ र पोखरामा उनीहरूलाई ट्रेकिङ मात्र होइन, बरिस्टा र हस्तकलाको तालिम दिएर आत्मनिर्भर बनाइँदैछ ।

समावेशीताको यो यात्रा यहाँ मात्र रोकिँदैन। परियोजनाले समाजको किनारामा पारिएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई पर्यटनको मूलधारमा ल्याएको छ। ह्विलचियर प्रयोगकर्ताहरू अब घरको कोठामा सीमित छैनन्, उनीहरूलाई ‘कन्टेम्पररी आर्ट’ अर्थात् समकालीन कलाको तालिम दिएर पर्यटकीय गन्तव्यमै बसेर चित्र बेच्न सक्ने ‘स्वरोजगार उद्यमी’ बनाइएको छ।

यसका साथै, परियोजनाले विदेश पलायन हुन लागेका युवा शक्तिलाई रोक्न राफ्टिङ गाइडहरूको क्षमता अभिवृद्धि र लाइसेन्सिङमा जोड दिएको छ। त्यस्तै, राष्ट्रिय निकुञ्जका नेचर गाइडहरूलाई ‘वाइल्डलाइफ फोटोग्राफी’ तालिम दिएर पर्यटकको बसाइ लम्ब्याउने रणनीति लिइएको छ। विद्यालय स्तरबाटै पर्यटन बुझाउन १५० भन्दा बढी स्कुल र कलेजमा ‘दिगो पर्यटन क्लब’ गठन गरिएका छन्।

परियोजनाको मुख्य ध्येय भनेको केवल पूर्वाधार बनाउनु मात्र होइन, समुदायलाई जोडेर एकीकृत विकास गर्नु हो। अपि जस्तो दुर्गम क्षेत्रमा पदमार्ग सुधारसँगै स्थानीयलाई उद्दार (Rescue) र प्राथमिक उपचारको तालिम दिएर गन्तव्यलाई सुरक्षित बनाउने काम भइरहेको छ।

पर्यटन बोर्ड र यूएनडीपीको यो सहकार्यले देखाइदिएको छ कि पर्यटनमा विविधता नै शक्ति हो। अपाङ्गता भएका, सीमान्तकृत र स्थानीय समुदायको अनुहारमा देखिएको मुस्कान नै ‘समृद्ध नेपाल’ को असली आधार हो।

Leave a Reply