जलवायु परिवर्तन र वातावरणीय संकट : न्यायको आवाज उठाऔँ | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

जलवायु परिवर्तन र वातावरणीय संकट : न्यायको आवाज उठाऔँ

climate change

जलवायु परिवर्तनको विश्वव्यापी असर भौगोलिक रूपमा संवेदनशील नेपालमा तीव्र रूपमा देखिन थालेको छ । हिउँ पग्लिदै जाने, बेमौसमी तथा अनियमित वर्षा हुने, बाढीपहिरो र कृषि संकटले जनजीवन तथा अर्थतन्त्रमा जोखिमहरु बढ्दै गएका छन् ।

 

-माेहनप्रसाद मैनाली
नेपाल जैविक विविधताले धनी भएपनि विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटले गम्भीर चुनौतीमा धकेलिरहेको छ । विश्वभर नै तापमान वृद्धि, चरम मौसमी घटना, असन्तुलित तथा बेमौसमी वर्षालगायतका समस्या देखिएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएका छन् । भूस्खलन, बाढी, सुख्खा मौसम, खडेरीलगायतका समस्याले कृषि, सरोकारवाला समुदाय तथा समग्र अर्थतन्त्रमा दीर्घकालीन जोखिम थपिने क्रम जारी छ । हरेक नेपालीको दैनिक जीवनयापनमा असर गरिरहेको जलवायु परिवर्तनको असर र यसको खतराको सम्बोधनका लागि विश्वसामु आवाज उठान ढिला गर्न नहुने सन्देश प्रष्ट छ ।

नेपालका लागि सबैभन्दा ठुलो खतरा हिउँ पग्लिने र हिमताल वृद्धि हुनु हो । तापमान वृद्धिका कारण हिमालका तल्लो भागमा जम्ने हिउँको परिमाण घटिरहेको छ । हिउँ पग्लने क्रम तीव्र भएसँगै हिमतालको आयतन बढ्ने र विष्फोटसमेत हुने खतरा बढिरहेको छ, जसबाट बस्तीमा असर पर्छ । हिमताल विस्फोटले पहाडी भूस्वरुपनै परिवर्तन गर्न सक्ने गम्भीर खतरासमेत हुन्छ । जलवायु परिवर्तनका कारण किषि उत्पादनमा कमी आएको छ । कृषि नेपालको अर्थतन्त्रको एक आधारभूत स्तम्भ हो; तर आज वर्षाको भरमा हुने खेतीमा कमी आएको छ । जसले ग्रामीण जनजीवन सकंटतर्फ धकेलिरहेको छ । वन विनाश र वायु प्रदूषणको समस्या पनि गम्भीर रूपमा उठिरहेको छ । सहरहरू, विशेष गरी काठमाडौं उपत्यकामा हावा प्रदूषणले स्वास–प्रश्वासका रोग, आँखाको समस्या र बालबालिकाहरूमा दीर्घ स्वास्थ्य समस्या देखाइरहेका छन् । भौगोलिक रुपमा संवेदनशील देश भएकाले नेपाल समुद्र सतह वृद्धिबाट सीधै प्रभावित नभएपनि जलवायु परिवर्तनका प्रभावले ठूलो चुनौती सिर्जना गरेको छ ।

नेपालले जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्ने अनेक प्रयास गरिरहेको छ, तर मानवीय, वित्तीय तथा प्राविधिक स्रोतको अभावले पूर्ण रूपमा प्रभावकारी हुन सकेका छैनन् । नेपालले वातावरणीय संकटसँग लड्न अन्तर्राष्ट्रिय सहयोग र राहतमा पनि पहुँच पु¥याउनु अपरिहार्य छ । हरित जलवायु कोष अन्तर्गत जलवायु अनुकूलन कार्यक्रमहरुमार्फत् वित्तीय सहायताका लागि पहल जरुरी छ । वित्तीय सहयोगले प्रत्यक्ष रूपमा स्थानीय समुदायलाई अनुकूल उत्पादन विधि, जलस्रोत व्यवस्थापन, विपद् पूर्वचेतावनी प्रणाली र चरम मौसमी घटना सामना गर्न मद्दत पु¥याउन सक्छ ।

जलवायु परिवर्तन र वातावरणीय संकटको चुनौती स्वीकार गरेर दिगो परिवर्तन मार्गमा अघि बढ्न प्रेरित गर्नुपर्छ । यसका लागि शक्ति, जागरण, अन्तर्राष्ट्रिय सहयोग र नैतिक प्रतिबद्धता आवश्यक छ । आजको संर्घषले भोलिको नेपाललाई थप मजबूत, प्रतिस्पर्धी र वातावरणीय रूपमा सुदृढ बनाउनुपर्छ । यस्ता चुनौतीबीच नेपालले आन्तरिक प्रयाससँगै अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायको आवाज मजबुत बनाउन आवश्यक छ ।

Leave a Reply