पर्यटकीय गतिविधि उत्साहजनक, नीति र कार्यान्वयन कमजोर ! | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

पर्यटकीय गतिविधि उत्साहजनक, नीति र कार्यान्वयन कमजोर !

नेपालमा पर्यटक आगमन बढ्दै गए पनि सन् २०१९ को ऐतिहासिक कीर्तिमान छुन सकेको छैन । छिमेकी मुलुकबाट घट्दो आगमन र पूर्वाधार कमजोरीले पर्यटन क्षेत्रलाई चुनौती दिइरहेको छ । पर्यटनमा संख्या मात्र महत्वपूर्ण हुँदैन गुणस्तरीय र दिगो पर्यटनका लागि नीति र कार्यान्वयन आवश्यक छ ।

 

-माेहनप्रसाद मैनाली
नेपालको पर्यटन क्षेत्र फेरि एकपटक ऐतिहासिक मोडमा उभिएको छ । पछिल्ला वर्षहरूमा महामारी, राजनीतिक आन्दोलन र प्राकृतिक विपत्तिका कारण गम्भीर धक्का खाएको पर्यटनले क्रमशः लय समात्दै गए पनि अझैसम्म सन् २०१९ को सर्वाधिक आगमनको कीर्तिमान छु्न सकेको छैन । नेपाल पर्यटन बोर्डको तथ्यांक हेर्ने हो भने दिगो पर्यटन सम्भव छ भन्ने आशा त देखाउँछ, तर नीति र कार्यान्वयनमा थप प्रष्टता आवश्यक छ भन्ने सन्देश पनि दिएको छ ।

प्रतिकूल अवस्था हुँदाहुँदै पनि पर्यटक आगमन निरन्तर बढ्दो क्रममा देखिएको छ । विभिन्न राजनीतिक आन्दोलन र प्राकृतिक प्रकोपपछि पनि पर्यटकको चासो फर्कनु नेपाल सुरक्षित गन्तव्य हो भन्ने अन्तर्राष्ट्रिय सन्देशसँग जोडिएको छ । थप व्यवस्थित, प्रतिस्पर्धी र गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न नेपालले अन्तर्राष्ट्रिय पहल गर्न आवश्यक देखिन्छ ।

पर्यटन बोर्डको तथ्यांकलाई आधार मान्दा दक्षिण एसियाली बजारनै नेपालको पर्यटकीय मेरुदण्ड भएको देखिन्छ । तर यही बजारबाट आगमन घट्नु दीर्घकालीन जोखिमको रुपमा हेर्नुपर्ने हुन्छ । भारत र चीनजस्ता छिमेकी मुलुकबाट आउने पर्यटक संख्या घट्न्ु नीतिगत असफलताको संकेतको रुपमा बुझ्न सकिन्छ । यी मुलुकसँगको हवाई कनेक्टिभिटी, स्थलमार्ग पूर्वाधार, भिसा प्रक्रिया र लक्षित प्रचारमा कमजोरी देखिन्छ ।

विशेषगरी भारतीय पर्यटकलाई स्वतः आउने समूह ठानेर बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । धार्मिक, स्वास्थ्य, विवाह र सम्मेलन पर्यटनमा भारत केन्द्रित प्याकेज, सहुलियतपूर्ण यातायात र संयुक्त प्रचार अभियान आवश्यक छ । चिनियाँ बजारका लागि भाषा–मैत्री सेवा, डिजिटल भुक्तानी प्रणाली, चिनियाँ ट्राभल प्लेटफर्मसँग सहकार्य र नेपाल र चीनको भूमार्ग सहज नभएकाले नियमित चार्टर उडान विस्तार अपरिहार्य देखिन्छ ।

युरोप, अमेरिकालगायतका देशहरुबाट आउने पर्यटक संख्या स्थिर रूपमा बढ्नु नेपालका लागि अवसर हो । यी पर्यटक उच्च खर्च गर्ने, लामो समय बस्ने र गुणस्तरीय सेवा खोज्ने खालका हुन्छन् । साहसिक पर्यटनसँगै सांस्कृतिक, ग्रामीण, र प्रकृतिमा आधारित पर्यटनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्न आवश्यक छ । होमस्टे, ट्रेकिङ र संरक्षित क्षेत्रको व्यवस्थापनमा गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइनुपर्छ ।

पूर्वाधार सुधार बिना पर्यटन वृद्धिको कल्पना अधुरो हुन्छ । विमानस्थल, सडक, आन्तरिक उडान, डिजिटल कनेक्टिभिटी र सरसफाइमा तत्काल सुधार आवश्यक छ । त्रिभुवन विमानस्थलको भीड व्यवस्थापनदेखि पोखरा र भैरहवा विमानस्थलको पूर्ण उपयोगसम्म ठोस योजना चाहिन्छ । साथै, पर्यटकीय स्थलमा शौचालय, सूचना केन्द्र र आपतकालीन सेवाको न्यूनतम मापदण्ड लागू गरिनुपर्छ ।

पर्यटन श्रमशक्ति पनि अर्को महत्वपूर्ण पक्ष हो । गाइड, होटल कर्मचारी, चालकदेखि सुरक्षाकर्मीसम्मको तालिम र पेशागत मर्यादा सुधार नहुँदा असन्तुष्ट पर्यटकले नकारात्मक प्रचार गर्छ, जसको असर दीर्घकालीन हुन्छ । सेवा संस्कार, बहुभाषिक क्षमता र आतिथ्य शिक्षामा राज्य र निजी क्षेत्रले संयुक्त लगानी गर्न आवश्यक छ । पछिल्लो समय अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ जसले पर्यटन प्रवद्र्धनमा थप सहयोग पुर्याउने देखिन्छ ।

सन् २०२६ मा विदेशी पर्यटक भित्र्याउन डिजिटल प्रचारलाई प्रभावकारी माध्यमका रुपमा विकास गरिनुपर्छ । परम्परागत विज्ञापनभन्दा सामाजिक सञ्जाल, डेटामा आधारित अभियान प्रभावकारी हुनसक्छ । पर्यटक धेरै आएर असन्तुष्ट भएर फर्कनुभन्दा, सन्तुष्ट भएर पुनः आउने र अरूलाई सिफारिस गर्ने अवस्था सिर्जना गर्नुपर्छ । प्रष्ट नीति, प्रभावकारी कार्यान्वयन तथा सरकार र निजी क्षेत्रबीच सहकार्य भयो भने नेपालले पुनः कीर्तिमान मात्र होइन, दिगो पर्यटनको उदाहरण पनि स्थापित गर्न सक्छ ।

Leave a Reply