काठमाडाैं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ ।
विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभयो । ढकालका अनुसार प्रिमियम तिरेका यात्रुलाई सोही अनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाईं तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत् अभिलेखीकरण गर्नु राम्रो भएको बताउनुभयो । यसले नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने आधार निर्माण गरेको छ । जोशीकाअनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ । पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ ।
जोशीकाअनुसार पर्यटकको नाममा अपराधिक मानसिकता लिएर आउने व्यक्तिहरूको निगरानी गर्न सके यस्ता गतिविधि नियन्त्रण गर्न सजिलो हुनेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उता, वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताउनुभयो । उहाँकाअनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए वाह्य मात्र नभई आन्तरिक आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ ।
उहाँका अनुसार टिकट प्रणालीलाई कडाइका साथ लागू गर्न जरुरी छ ।





