काठमाडौ
काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उहाले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताउनुभएको हो । उहाँले आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिनुभयो । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँले महानगरले दुई अर्ब ८६ करोड रुपैयाँ बराबरको पुर्वाधार योजना सम्पन्न गरेको पनि जानाकारी दिनुभयो । धुलोरहित कार्यक्रम अन्र्तगत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उहाँले बताउनु भयो । सडकबत्तिको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार तीन सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ति राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले महानगरले करिव ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको पनि बताउनुभयो । महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २१० जनालाई निःशुल्क उपाचार गरिएको पनि जानकारी दिनुभयो ।
उहाँले महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरि काम गरिरहेको पनि जानकारी दिनुभयो । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो शहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उहाँको भनाई छ ।




