काठमाडाैं । मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ । ३५ वर्षको सरकारी सेवापछि अनिवार्य अवकाशमा जानुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदाइ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारी सेवामा प्रशंसाभन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनुभयो । कुनैपनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उहाँको भनाइ छ । उहाँले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताउनुभयो ।
जेन–जी आन्दोलन, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन र सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उहाँको भनाइ छ । उक्त विषम परिस्थितिमा भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भूमिका गरेको उहाँले बताउनुभयो । यसबाट पनि आगामी दिनमा निजामती सेवाको उच्च महत्व स्थापित भएको उहाँले बताउनुभयो । तरपनि प्रश्न गर्ने समाजको स्वभावै भएको उहाँको भनाइ छ ।
उहाँले संघीय निजामती सेवा र कानूनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पुर्याउने व्यवस्थाहरूविरुद्ध आफूले स्पष्ट रुपमा खुला धारणा राखेको बताउनुभयो । ती विषयहरू व्यक्तिगत विवाद नभएर संस्थागत सुधारको अनिवार्यता रहेपनि आलोचना र विवाद भएको उहाँले बताउनुभयो । त्यस क्रममा भएका आलोचना र प्रशंसा दुवैलाई आफूले स्वीकार गरेको उहाँले बताउनुभयो ।
उहाँले सेवा निवृत्त हुँदै गर्दा निजामती सेवाले पछिल्ला वर्षमा गरेका प्रमुख उपलब्धिहरू समेत सार्वजानिक गर्नुभयो । वैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा लैजानु, सेवा प्रवाह सहज बनाउनु, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल तथा इमिग्रेसन सेवा सुधार, सुशासन र व्यवसायिक वातावरण सुधारमा म्यासिभ र दिगो प्रयत्न गरिएको उहाँको भनाई थियो । यी उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण निजामती सेवाको सामूहिक उपलब्धि भएको उहाँले बताउनुभयो । उहाँले समयमा महत्व र कठिन अवस्थामा पनि राज्यका संयन्त्रहरूलाई चलायमान राखेको उल्लेख गर्नुभयो ।
जेन–जी आन्दोलनले देशलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्नुहुँदै मुख्यसचिव अर्यालले नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता र सहज सेवा चाहेको बताउनुभयो । उहाँले अहिलेका संरचनाहरूलाई अनुकूलन र सुधार गर्ने समय आएको उल्लेख गर्नुभयो । उहाँले निजामती सेवामा साहस नखस्किन नदिन पनि आग्रह गर्नुभयो । सुधार गर्ने हिम्मत, न्यायपूर्ण निर्णय गर्ने इमान, नागरिकप्रति संवेदनशीलता तथा संस्थालाई अगाडि बढाउने दृढता बिना राज्य बलियो नहुने उहाँको भनाई छ । इतिहासले सधैँ साहसलाई सम्मान गर्ने भन्दै उहाँले कठोर निर्णयहरू प्रायः एकमत नआउने तर देशलाई चाहिने निर्णय भने हुनुपर्ने बताउनुभयो ।
निवर्तमान मुख्यसचिव अर्याल २०४६ साल माघ ४ गतेबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएको हो ।





