काठमाडाैं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रशासनमा आमुल परिवर्तन गर्नका लागि आफू निरन्तर लागिपरेको बताउनुभएको छ । आज नेपाल उद्योग परिसंघले राजधानीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै करचुक्ता प्रमाणपत्रकै आधारमा अटोमेटिक रुपमा व्यवसाय नवीकरण गर्नका लागि काम भइरहेको बताउनुभएको हो ।
उहाँका अनुसार कर प्रशासन सुधारदेखि एउटै बिन्दुबाट सबै प्रकारका कर भुक्तानी गर्ने प्रणालीको विकास गर्ने काम भइरहेको छ । अहिले एउटा व्यवसाय, कम्पनी खोल्नका लागि अनेकौँ निकायमा जानुपर्ने बाध्यतालाई हटाउन काम भइरहेको खनालले बताउनुभयो खनालका अनुसार केही महिना भत्रै अनलाइनमार्फत् व्यवसायीलाई कर चुक्ता प्रमाण पत्र दिने कामको समेत थालनी गरिनेछ । केही समय भित्र करचुक्ता प्रामाणपत्रकै आधारमा व्यवसाय नवीकरण गर्ने वातावरण सिर्जना हुनेछ । त्यसका लागि कामहरु भइरहेको छ ।
अर्थमन्त्री खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरु हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताउनुभयो । करका दरहरु हेरफेर गर्दा विरोधहरु हुने र चुनावी माहोललाई नै असर पार्ने भएकाले त्यसतर्फ आफूले ध्यान नदिएको खनालको भनाइ छ ।
खनालले निर्वाचन गराउन गठित सरकार भएकाले तत्कालै निजी क्षेत्रले खोजेअनुसारका कानूनहरु समेत ल्याउनसक्ने अवस्था नरहेको बताउनुभयो । उहाँकाअनुसार अबको केही दिनमै निर्वाचन आचारसंहिता लाग्नेछ, त्यसबेला सरकारले दीर्घकालिन महत्वका केही काम गर्न सक्नेछैन ।





