काठमाडाैं । जेन–जी आन्दोलनका प्रतिनिधिहरूले राजनीतिक दल, आईएनजीओ र एनजीओबाट फण्डिङ केही जेन–जी समूहहरुले आन्दोलनका मूल मुद्दा कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित ‘ऐतिहासिक जेन–जी आन्दोलन र परिवर्तनको मार्गचित्र’ विषयक गोष्ठीमा बोल्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
जेन–जी समूहहरुको विभागजन र स्वार्थी प्रवृत्तिका कारण जेन–जी आन्दोलनको औचित्यमाथि नै शंका उत्पन्न हुन थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरे । जेन–जी प्रतिनिधि अबिन मयाङ्बोले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम लगायत तीन वटा मुद्दा लिएर आन्दोलन सुरु गरिएको भएपनि केही जेन–जी समूहहरु सत्ताकै पछि दौडिरहेको आरोप लगाउनुभयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु पूरा गर्न आफूले एकताका लागि आह्वान गरेको भएपनि कोही जेन–जी समूह वा व्यक्ति सहभागि नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
जेन–जीकी अर्की प्रतिनिधि अञ्जु राईले आन्दोलनका शहीदहरूको बलिदान व्यर्थ हुन नहुने धारणा राख्नुभयो । उहाँले २०८४ सालमा हुने आवधिक निर्वाचनलाई २०८२ सालमा गर्नको लागि मात्र आफूहरुले आन्दोलन नगरेको स्पष्ट पार्नुभयो । उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन नभए फेरी आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो । उहाँले जेन–जी पुस्ताका माग सम्बोधन गर्न तथा शहीदका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रधानमन्त्रीलाई लिखित निवेदन दिएपनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभयो ।
त्यस्तै, ज्योतिका फुर्केलीले जेन–जी पुस्ता आपसी विभाजनको मार्गमा हिँडेकै कारण पुराना राजनीतिक शक्तिहरू शिर उठाउन थालेको बताउनुभयो । उहाँले जेन–जी आन्दोलनले निकास नपाए समाजमा जेन-जी पुस्ता आतंककारी ठहरिने भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्नको लागि जेनजीबीको एकताको विकल्प नरहेको जिकिर पनि गर्नुभयो ।
फुर्केलीले सबै जेन-जी समूहलाई एकजुट भइ मूल आन्दोलनका माग पूरा गर्नतर्फ लाग्न आह्वान समेत गर्नुभयो ।





