पुनर्जीवनको बाटोमा पोखराको पर्यटन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

पुनर्जीवनको बाटोमा पोखराको पर्यटन

देशमा भएको राजनीतिक तथा विभिन्न घटनाक्रमका कारण केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः सक्रिय बनेको छ । दशैँ, तिहार र छठजस्ता लामो सार्वजनिक बिदा र अनुकूल मौसमका कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको हो । पर्यटकीय गतिविधि बढेसँगै पर्यटकीय राजधानी पोखराको अर्थतन्त्रमा नयाँ ऊर्जा थपेको छ । 

 

हिमाल, ताल र हरियालीको संयोजनका रूपमा परिचित पर्यटकीय राजधानी पोखरा अहिले पुनः आफ्नो पुरानो चमक फर्काउने बाटोमा अघि बढिरहेको छ । राजनीतिक आन्दोलन, विभिन्न महामारीलगायतका कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले नयाँ उत्साहको लहर देखिन थालेको छ । दशैँ, तिहार र छठजस्ता लामो पर्व बिदाका साथै खुला मौसम र हिमालको प्रष्ट दृश्यावलोकनका कारण पोखराका होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी र साहसिक खेल व्यवसायमा उल्लेखनीय चहलपहल बढेको हो ।

फेवाताल, बिन्द्याबासिनी, शान्तिस्तूपा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा तथा स्याङ्जा हुँदै मुस्ताङसम्म पुग्ने पर्यटकीय मार्ग यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिएका छन् । अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त र मनमोहक सौन्दर्य, प्याराग्लाइडिङ, बन्जी जम्प, जीप फ्लायर, अल्ट्रा फ्लाइटजस्ता साहसिक खेलहरूले पोखराको आकर्षणलाई अझ बलियो बनाएका छन् । यस्ता गतिविधिहरूले अन्तर्राष्ट्रिय बजारमा पनि पोखराको पहिचानलाई पुनर्जीवित गर्ने काम गरिरहेका छन् ।

पछिल्लो समय मौसममा सुधार, सुरक्षा र संरचनागत विकासले गर्दा पोखरामा पर्यटक भित्रिने क्रम उत्साहजनक रुपमा वृद्धि भएको छ । व्यवसायीका अनुसार अहिले लेकसाइड क्षेत्रमा रहेका करिब ९० प्रतिशत होटलहरू भरिभराउ छन्, जसले सुस्त अर्थतन्त्रमा नयाँ ऊर्जा भरेको छ ।

पोखराको पर्यटन क्षेत्रले अहिले झन्डै ८ खर्ब रुपैयाँ बराबरको लगानी आकर्षित गरेको अनुमान गरिएको छ । यसमध्ये ६ खर्ब रुपैयाँ होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजारले रोजगारी पाएका छन् । पोखराको पर्यटन सौन्दर्यको प्रतीकका साथसाथै रोजगारी, लगानी र आम्दानीको महत्वपूर्ण स्तम्भ बनेको छ । पर्यटनमा आएको यो सुधारले स्थानीय उत्पादन, यातायात, हस्तकला र कृषि बजारमा समेत सकारात्मक प्रभाव पारेको छ ।

स्मार्ट पर्यटन प्रवद्र्धन, डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय उड्डयन विस्तारमार्फत् पोखरालाई वर्षभरका लागि पर्यटकमैत्री शहर बनाउन आवश्यक छ । अन्नपूर्ण क्षेत्र, मुस्ताङलगायतका क्षेत्रलाई पर्यटन प्याकेजका रुपमा विकास गर्नु पोखराको पर्यटन चाडपर्वमा मात्र होइन वर्षभरनै स्थिर राख्न सकिने उपायहरु हुन् ।

पोखराको वर्तमान पर्यटकीय गतिविधिमा आएको उत्साहले आशाको किरण छाएको छ । यो आशालाई टिकाइ राख्न र मूर्तरुप दिन स्थानीय, व्यवसायी र सरकार तथा सरोकारवाला सबैको संयुक्त प्रयास आवश्यक छ ।

Leave a Reply