काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले बिहीबार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन हुने वातावरण निर्माण नभएकाे बताउनुभएको हो ।
माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँले बताउनुभयो । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उहाँको आरोप छ । उहाँले सरकार राजनीतिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गर्नुभयो ।
सरकाले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उहाँको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उहाँले बताउनुभयो ।
उहाँले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गर्नुभयो ।





