वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न जेन-जीको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न जेन-जीको माग

काठमाडाैं । जेन-जी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानविन गर्न माग गरेको छ । जेन-जी समूहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो ।

जेन-जी समूहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो । उहाँले वाइडबडी र लाउडा एयर घोटालाको छानविन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताउनुभयो ।

अदालतबाट दोषी ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उहाँले बताउनुभयो । साथै करार कर्मचारीहरु संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिनुभयो । निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेन-जी समूहको माग छ । आफूहरुको माग पूरा नभए सबैले स्वेछिक राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिनुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनीतिक हस्तक्षेप भएको स्वीकार गर्नुभएको छ । जेन-जीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उहाँले बताउनुभयो । उहाँले जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताउनुभयो । जहाज बिक्री गर्दा ग्राउण्डेड गराएर मात्रै विक्री गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताउनुभयो ।

जेन-जी समूहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।

Leave a Reply