काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा शुभकामना दिन पुगेका पार्टीका नेता, कार्यकर्ताहरुसँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले देशको अवस्था धेरै नै चिन्ताजनक रहेको बताउनुभयो । अहिले राष्ट्रलाई पीर परेको उल्लेख गर्नुहुँदै देश नेपालीले नै बनाउनुपर्ने बताउनुभयो । सेन्टीमेण्टमा आक्रोशित हुँदा यो परिणाम आएको उहाँको भनाइ छ । बानी व्यहोरा, आनीबानी सबै सुमधुर र मीठो एवं समाजउपयोगी हुनुपर्ने बताउनुभयो ।
उहाँले सभ्य, सुसंस्कृत हुनुपर्ने भन्दै असभ्य र गैरजिम्मेवार हुनु युवापन नभएको बताउनुभयो । अहिले नलेज सिकाइने तर क्यारेक्टर नसिकाइएका कारण युवा पुस्तामा यस्तो समस्या आइरहेको बताउनुभयो । अहिले नेपाल धेरै बद्नाम भएको उल्लेख गर्नुहुँदै धेरै देशहरुले भिसा रोकेको, काम गर्न वञ्चित गराइएको कुराबाट नेपाल लज्जित हुनुपरेको उल्लेख गर्नुभयो । नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्ने र त्यो काम अरु कसैले नगर्दिने उहाँको भनाइ छ ।
उहाँले सिंहदरबार, संसद भवन कसले जलायो त्यसबारे जानकारी नरहेको भन्दै अरुको लहलहैमा लाग्दाको परिणामका रुपमा लिनुपर्ने बताउनु भयो । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले योजनावद्ध रुपमा सरकारी सम्पत्ति जलाइएको बताउनुभयो ।
अध्यक्ष ओलीले बादल लाग्यो भन्दैमा बादल नहट्ने र साँझ पर्यो भन्दैमा भोलि बिहान उज्यालो हुँदैन भन्ने नहुने टिप्पणी गर्नुभयो ।





