एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादको विषय प्रवेशमै रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादको विषय प्रवेशमै रोक

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि शुरू भएकाे छ । गोदावरीमा शुरू भएकाे एमालेको महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादको विषय प्रवेशमै रोक लगाइएको छ ।

बिहीबार केन्द्रीय सचिवालयमा बसेको केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने निर्णय गरेकाले त्यो विषय महाधिवेशनमा प्रवेश नै नहुने भएको हो । विधान महाधिवेशनमा मुख्य गरी पार्टीको कार्यदिशा, नयाँ विधानको प्रस्ताव र संगठन निर्माणका लागि कार्यक्रम तय गर्ने मुख्य मुद्दा रहेका छन् ।

२०७८ सालमा भएको पहिलो विधान महाधिवेशनमा राजनीतिक, वैचारिक र सांगठनिक विषयले प्राथमिकता पाएपनि यसपटक भण्डारीको सदस्यता विवादको विषय बढी चर्चामा छ । भण्डारीको सदस्यता नवीकरण रोकिएपछि एमालेभित्र उत्पन्न अन्तरविरोधका कारण प्रतिनिधिसमेत विभाजित छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले तयार पारेको विधान प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिले फरक मत राख्न पाउने छन् । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद विधान महाधिवेशनको मुद्दा नभएकाले यसबारे छलफल नहुने भएको छ । पूर्वराष्ट्रपतिको सदस्यताको विषय आगामी केन्द्रीय कमिटीमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यालयमा दर्ता भएको स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतबारे भने अध्ययनपछि टुंगोमा पुग्ने सचिवालयले निर्णय गरेको छ । अध्यक्ष ओलीले उद्घाटन गर्ने महाधिवेशनमा गत राष्ट्रिय महाधिवेशनमा छानिएका प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र केन्द्रीय कमिटीका ३ सय १५ गरी २ हजार ३ सय ४१ प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष ओलीको प्रस्तावमा राजनीतिक प्रतिवेदनले विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने जनाइएको छ ।

Leave a Reply