काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाजको आयोजनामा बिहीवार भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नेपालमा कति सहकारीहरु सञ्चालन भइरहेका छन्, कति सहकारी के उद्देश्यले सञ्चालन भएका हुन् भन्नेबारेमा यकिन तथ्याङ्क नरहेको जिकिर गर्नुभयो । उहाँले दर्ता भएका कतिपय सहकारीहरुको नाम निशान नै नरहेको पनि बताउनुभयो।
त्यसलाई नियमन र नियन्त्रण गर्न सरकारले अहिले वचतको सीमा राखेको, ऋणको सीमा राखेको बताउनुभयो । सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै सरकार लागेको बताउनुभयो । सहकारी ठिक ठाउँमा आएपछि सहकारी खुला गर्न सकिने बताउनुभयो । आवश्यकता अनुसारको विधि बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले अफ्ठ्यारा कुरालाई फुकाउँदै जानुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।





