काठमाडाैं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गर्नुभयो । उहाँकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ ।
उहाँले हालसम्म ७३ जिल्लाबाट एक हजार ६ सयको हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताउनुभयो । बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको उहाँकाे भनाइ छ।





