काठमाडाैं । सभामुख देवराज घिमिरेले संसदलाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । संसद दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने बताउनुभएकाे हाे ।
सभामुख घिमिरेले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसदले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।
उहाँले संसदको प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको बताउनुभयो । संसदलाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उहाँको भनाइ छ ।





