काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएकाे हाे ।
सांसद पुनले व्यवसायीहरूलाई करको दायरामा ल्याउनुपर्ने भन्दै सम्पत्ति शुद्धिकरण गर्ने कुरा नराम्रो भएको बताउनुभयो ।
उहाँले नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गर्नुभयो । अवैध कारोबार रोक्नको लागि करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने उहाँकाे भनाइ छ ।
सांसद पुनले करका दरलाई व्यावहारिक र वैज्ञानिक बनाउनु पर्नेमा जाेड दिनुभयाे ।





