तरकारी बजार र शीतभण्डारण किसानमैत्री बनाइयाेस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

तरकारी बजार र शीतभण्डारण किसानमैत्री बनाइयाेस्

तीनै तहका सरकारले नेपाली किसानले उत्पादन गरेको कृषि उपजको राम्रो मूल्य पाउने व्यवस्था गर्नुपर्छ । कृषि उपज धेरै उत्पादन भएको समयमा उचित मूल्य नपाए केही समय चिस्यान अर्थात शीतभण्डारमा राखेर बजारीकरण गर्नुपर्छ । त्यसका लागि तीन तहकै सरकारले किसानलाई पायक पर्ने स्थानमा बढीभन्दा बढी शीतभण्डार बनाउन ढिला गर्नुहुन्न ।

अहिले नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार पाएन भन्दै, किसानलाई हतोत्साही बनाउन तरकारी बजार र मण्डीहरुमा तरकारी फाल्ने काम भएको छ । यस्तो काम ठीक होइन । पहिलो कुरा त हाम्रा तरकारी बजार र मण्डीहरु नेपाली किसानमैत्री छैनन् । दोस्रो तरकारी मण्डी र बजारसम्म किसानले नभइ, नाफा खाने विचौलियाले तरकारी पुर्याउछ । नेपाली किसानले थोरै थोरै उत्पादन गरेर बेच्छन् ।

विचौलियाका लागि नेपाली किसानको थोरै तरकारीलाई बजारसम्म आउन नदिन अनेक बहानाबाजी गरेर बाहिरबाट आएको तरकारीको एक रुपैयाँ भने पनि सस्तो देखाइएको हुन्छ । अहिले नेपाली किसानको तरकारी धेरै उत्पादन भएर बजार नपाएको होइन । टनका टन बाहिरबाट विषादीयुक्त तरकारी आएकाले तरकारी बजारका विचौलिया र ठेकेदारहरुले बाहिरबाट आउने तरकारीमा कमिशन पाउछन् । जसले नेपाली उत्पादनको ती विचौलिया आफै जान्ने भएर मूल्य घटाउछन् । बाहिरबाट आएको तरकारी नेपाली तरकारीको तुलनामा धेरै विषादि प्रयोग गरिएको हुन्छ ।

‘विषादी प्रयोग गरेर तयार गरेको तरकारी हाम्रा स्थानीय तहहरुले सीमा नाकामा परीक्षण गरेर उतै रोक्ने व्यवस्था मिलाउनुपर्छ ।’

यस्तो विषयमा तरकारी बजार अनुगमन र विषादी परीक्षण गर्ने सरकारी निकायले ध्यान दिँदैन । विषादी प्रयोग गरेर तयार गरेको तरकारी हाम्रा स्थानीय तहहरुले सीमा नाकामा परीक्षण गरेर उतै रोक्ने व्यवस्था मिलाउनुपर्छ । नेपाल बाहिरबाट आएको तरकारी हाम्रा सीमा नाकामा विषादी परीक्षण नगरी देशका कुनै तरकारी बजारमा पुर्याउन र राख्न दिनुहुन्न । विषादीको प्रयोग देखिने बित्तिकै फर्काइदिने हो भने नेपाली किसानले कहिलै समस्या भोग्नुपर्दैन । यो काम सीमानाकाका स्थानीय तहले नेपाली किसानलाई प्रोत्साहन गर्न अनिवार्यरुपमा गर्नुपर्छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिमा दिने अनुदानको रकम वास्तविक किसानले नपाइ विचौलियाले लिएर दूरुपयोग भइरहेको छ । यस्तो रकमले हरेक स्थानीय तहमा किसानलाई पायक पर्ने स्थानमा चिस्यान केन्द्र अर्थात् शीतभण्डार बनाउनुपर्छ । तरकारी धेरै उत्पादन हुने स्थानमा सकभर वडैपिच्छे शीतभण्डार बनाइदिने हो भने किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नापाउन्जेल शीतभण्डारमा राख्ने र मूल्य पाएपछि बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ ।

नेपाली किसानले उत्पादन गरेको खाद्यान्न, तरकारी, फलफूलले उचित मूल्य नपाउनुको मुख्य कारण अझै पनि किसानलाई पायक पर्ने स्थानमा शीतभण्डार नभएर नै हो । अहिलेसम्म बनाएका शीतभण्डारमा किसानले आफ्नो उत्पादन पुर्याउनै समस्या छ । कति स्थानमा सडकको समस्या छ भने धेरै स्थान दुरीका हिसाबले टाढा पर्छन् जसले किसानलाई उल्टै समस्या थपेको छ ।

शीतभण्डार किसानको पायक पर्ने ठाउँमा नबनाइ स्थानीय जनप्रतिनिधि र तरकारीमा वर्षौँदेखि किसान ठग्दै आएका विचौलियाको स्वार्थमा बनाइएकाले किसानलाई सेवा दिन सकेको छैन । त्यसैले, शीतभण्डार किसानमैत्री र किसानलाई पायक पार्ने स्थानमा अझै थप्नु पर्ने आवश्यकता छ । जसले किसानको समस्या समाधान हुन सकोस् ।

Leave a Reply

ताजा समाचार