काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले पार्टीभित्रका समस्या समाधान गर्न सकिने बताउनुभएको हो ।
पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उहाँको दाबी छ । उहाँले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याउनुभयो ।
अर्थमन्त्री पाैडेलले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताउनुभयो ।
उहाँले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै पार्टीका आन्तरिक समस्याको समुचित मूल्याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।




