जेठ ३० शुक्रबार ।
सरकारले सधै बजेट निर्माणको समयमा मात्र आम्दानीका श्रोतहरुको संभावना खोज्छ । प्राकृतिक श्रोत र खनिजबाट आम्दानी गर्न सकिने विषय बजेट भाषणमा समेटिएको पनि हुन्छ । बजेट भाषण सकिएपछि सरकारले संभावनाको खोजी र ऐनकानुन बनाउने कामै गर्दैन । सत्ता पक्ष र विपक्ष मात्र नभइ, राष्ट्रिय सहमतिमा वन ऐन संशोधन गरी वनभित्रको गिटीबालुवा, ढुंगामाटो निकाल्नुपर्छ ।
जसलाई विदेशमा बेचेर देशको आम्दानीको स्रोत विस्तार गर्ने बाटो खोल्नुपर्छ । नेपालको पूर्वीसीमादेखि पश्चिमी सीमासम्म फैलिएको चुरे क्षेत्रबाट दक्षिणतिर बग्ने खहरे खोलाको गिटीबालुवा र ढुंगामाटो निश्चित मापदण्ड बनाएर बेच्ने हो भने दश वर्षको देशको बजेट यसैले धान्छ ।रुखविरुवा नभएका नाङ्गा डाँडाको ढुंगामाटो सवै निकालेर बिक्री गर्ने प्रवन्ध मिलाउनुपर्छ ।
ढुंगामाटो निकालेपछि डोजर लगाएर सम्याउदा चुरे क्षेत्रको अहिले काम नलाग्ने अवस्थामा देखिएको जमिन सम्मथर बन्छ । जसमा मानवबस्ती नै विस्तार हुनसक्छ । विदेशमा मरुभूमिमासमेत बाहिरबाट पानी लगेर खेती गरिएको छ ।
हाम्रो देशमा त त्यस्तो अवस्था छैन । इजरायलले गरेको प्रगतिबाट हामीले पनि सिक्न सक्छौ । यसैगरी जपानको प्रगति खोलाको बगरमा भएको छ भने हामीले चुरे क्षेत्र जहाँ वनजंल छैन त्यस्तो भाग ज्यूँको त्यूँ राखेर केही उन्नति हुन्न । त्यस क्षेत्रको ढुंगामाटो बिक्रीपछि भविष्यमा बनिने समथर भूभाग पर्यावरणीय दृष्टिमा पनि सुन्दर बन्नसक्छ । चुरे क्षेत्र नै समथर बनेपछि त्यसक्षेत्रबाट बग्ने खहरेखोला पनि हराउछन् । समथर क्षेत्र भएपछि जमिन अहिलेको भन्दा विस्तार हुन्छ, कतै हराउँदैन ।
बरु बस्ती योग्य जमिन बढ्छ । खेती योग्य जमिन पनि बढाउन सकिन्छ । हरेक वर्षाको भेलले बगाउने बालुवा र माटो बिक्री गरेर देश धनी बनाउने विषयमा सरकारले सवैको सहमतिमा ऐननियम र मापदण्डको कडाइका साथ पालना गराएर काम गर्नुपर्छ । हामीसँग भएको प्राकृतिक स्रोत र खनिजको अधिकतम उपयोगबाट हामी समृद्धिको पथमा अघिबढ्नसक्छौ ।
नेपालको पानी र हाम्रो जनशक्तिको जवानी हामीले उपयोग गर्नुपर्नेमा दक्षिणका छिमेकी र अन्य मुलुकले भरपुर उपयोग गरिरहेका छन् । यसबाट पनि हामीले पाठ सिक्नैपर्छ । त्यसै बगेर जाने र थुप्रोलागेर बसेको खोलानालाका साथै चुरे क्षेत्रको गिटीबालुवा र माटोलाई नगदमा रुपान्तरण गर्नुपर्छ ।
सरकार र राजनीतिक दलहरुले देशभित्रको प्राकृतिक श्रोत र खनिजबाट आम्दानी बढाउन विज्ञ समूहसँग छलफल,राय सल्लाह गर्नुपर्छ । राजनीतिक आस्था र मत भिन्नतालाई थाती राखेर नेपाल र नेपालीको हितका विषयमा सत्तापक्ष र विपक्ष देखिनु हुन्न । अहिले राष्ट्रको उन्नतिका लागि सवैको इमान्दार प्रयाशको खाँचो छ । माउन्टेन टेलिभिजनका लागि राजनीतिक व्यूरोको रिपोर्ट ।




