पौष १२ शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ ।कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले लामिछानेको बयान बाँकी रहेकाले आज पनि हुने जानकारी दिएका छन्।सहकारी ठगीका प्रतिवादी लिला पछाईको बयान सकिएलगत्तै बिहीबारबाट लामिछानेको बयान सुरू भएको हो।
हालसम्म पूर्वडीआईजी छविलाल जोशी र पछाईको बयान सकिसकेको छ। लामिछानेको बयान सकिएपछि अन्य प्रतिवादीहरूको बयान हुनेछ। न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ।पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबारदेखि सुरु भएको हो।
सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ।लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ।
जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। पछाई र खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन्।