नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताउनुभएको छ ।
सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रश्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जानसक्ने बताउनुभएको हो । मंगलवार डल्लुस्थित निवासमा उहाँले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राख्नुभयो ।
बुधवार बिहान पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौं भन्ने खाका प्रश्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिनुभयो ।
सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उहाँको अडान छ । सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतीका साथ जानका लागि गरिएको प्रश्ताव अस्वीकार नगर्ने बताउनु भयो ।
सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भईरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताउनु भयो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरुमा पलाएको समेत बताउनु भयो ०००