काठमाडौं,२४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्नुभएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले मंगलबार संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सिफारिस भई आएबमोजिम संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरिएको बताउनु भयो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा का प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका– १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरेको उल्लेख छ ।
पाण्डेयलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षले मंसिर २५ गते महासचिवमा सिफारिस गरेर माघ ३ मा नियुक्तिका लागि राष्ट्रपतिकहाँ स्मरणपत्र पठाइएको थियो । यसअघि प्रतिनिधिसभा सचिवमा कार्यरत रहेका पाण्डेयले मंगलबार नै पदबाट राजीनामा गरेपछि संसद्को महासचिव नियुक्त गरिएको हो ।