काठमाडौं, १८ असोज ||
राष्ट्रिय सभाका सांसदहरुले वर्तमान गठबन्धनको सरकार सामाजिक न्याय विपरित हिँडेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा राष्ट्रिय सभा सदस्यहरुले सरकारले नागरिकका पीडालाई मलम लगाउने भन्दा पनि थप पीडा थप्ने काम गरेको बताएका हुन् । उनीहरुले पछिल्लो समय सरकारले गरेको गतिविधि न्याय र संविधान विपरित रहेको पनि आरोप लगाएका छन् । उनीहरुले सरकारले भ्रष्टाचारलाई निर्मुल बनाउने भने पनि भ्रष्टाचार मौलाउँदै गएको बताए । राष्ट्रिय सभासदस्य विना पोखरेलले विकास निर्माणका काममा ढिलासुस्ति र ठेक्कापट्टाको नाममा कमिसन,मन्दिरको भेटीमा घोटला,कर छली,करको दर हेरफेरमा चलखेल,हरेक वर्ष अर्बौंको बेरुजु र राजनीतिक मेलमिलाप रहेको बताउनु भयो । उहाँले सरकारले भष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिएसम्म भष्टाचारको अन्त्य हुन नसक्ने बताउनु भयो । उहाँले राजनीतिक स्वच्छ नबनेसम्म मुलुकको भष्टाचारको जालो उखेल्न नसकिने अवस्था रहेको पनि बताउनु भयो । उहाँले पछिल्लो समय नेपाली समाजले समेत भ्रष्टाचारलाई प्रोसाहित गरिहेको बताउनु भयो । उहाँले नेपालको निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको भन्दै निर्वाचन एउटा पर्व भएपनि ठूलो व्यापार जस्तो बनेको दाबी गर्नुभयो । उहाँले निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक प्रणाली लागू गरे मात्रै राजनीतिक भष्टाचार नियन्त्रण गर्न सकिने बताउनु भयो।
राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले कोशी प्रदेशको नाम राखेपछि पहिचानका नाममा सत्ताधारी दलहरुले भित्रभित्रै उचाल्ने गर्ने काम गरेको बताउनु भयो । उहाँले सत्ता गठबन्धनले उचाल्दा उचाल्दै त्यो कोशी धरान,सर्लाही हुँदै नेपालगञ्जसम्म जातजाती नभएर धार्मिक युद्ध हुने अवस्थामा मुलुक पुगेको बताउनु भयो । उहाँले सरकारको कमजोरीको कारण संविधान र अहिलेको व्यवस्था माथि प्रश्न उठाइ रहेको बताउनु भयो । उहाँले २९ जनाले न्यायधीशको लागि परीक्षा दिँदा एक जना मात्रै पास हुन्छन् तर न्यायधीश नियुक्त उनीहरुबाट नै छनोट हुने बताउनु भयो। उहाँले सरकारले अलोकतान्त्रीक निर्णयहरु गरेको भन्दै द्वन्द्व बढाउन खोजेको बताउनु भयो । उहाँले सत्ता गठबन्धन सरकार नै अहिलेको व्यवस्था र संविधानको खिलाभमा जान खोजेको आरो लगाउनु भयो ।
त्यस्तै,राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारले संविधान दिवसको दिन ऐतिहासिक काम गरे भनेपनि गलत काम गरेको बताउनु भयो । उहाँले फौजदारी अपराधमा संलग्न व्यक्तिहरुलाई एसिड आक्रमण गर्ने व्यक्तिहरुलाई खुकुरी प्रहार गर्ने अपराधीलाई आममाफी दिने काम गरेको भन्दै त्यस्तो गर्नु संविधान र कानूनको बर्खिलाप भइको बताउनु भयो । उहाँले सरकार आफैले संविधान र कानूनको औचित्य रहेको पुष्टि गर्न खाजेको आरोप लगाउनु भयो । उहाँले एसिड आक्रणमा परेकी मुस्कान खातुनको घाउ निको नहुँदै अपराधी छुट्नु सरकार पीडितलाई कमजोर बनाउने काम गरेको बताउनु भयो। उहाँले सामाजिक न्यायको विपरित सरकार हिँडिरहेको भन्दै यो गठबन्धन यसैको लागि हो भन्दै प्रश्न गर्नुभयो । उहाँले महँगीको कारण जनताको चलो बल्न नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकारको मौन रहेको बताउनु भयो ।





