काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिललद्धारा संयुक्त रुपमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानी भित्र्याउन र यहाँबाट लाभ लिन समेत विदेशी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
उहाँले नेपालमा लगानीका अधिक सम्भावना रहेकोतर्फबाट सबै विदेशी लगानीकर्ताहरुको ध्यान आकर्षित गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाहरुसँगै लगानीको वातावरण पनि रहेको जानकारी गराउनुभयो ।
नेपाल दुई ठूला र समृद्ध राष्ट्रको बीचमा रहेकाले लगानी र बजारको पनि त्यति तै अवसर रहेको उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालको लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेकाले ती विमानस्थलमा चीन र हङकङबाट पर्यटकहरुको आगमनमा पनि उल्लेख्य मात्रामा बृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो ।