काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारीहरु नै दोषि रहेको बताउनुभएको ।
शनविार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिहरुको संलग्नता हुन नसक्ने बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणमा मन्त्री र प्रधानमन्त्री भन्दा पनि मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताउनु भयो । उहाँले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताउनु भयो । उहाँले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुन तस्करीमा जाँच पडताल गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्, त्यस्तो भएमात्रै मन्त्री, प्रधानमन्त्री मुसिन सक्छन् नत्र त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन् । सुन आओस् की अरु विषय आउन् त्यसमा सिधै मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जोडिने हुँदैन । सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन, त्यहाँ कस्तो जालो रहेछ, अब यहाँ पनि केही जालो देखापरेको छ, विभिन्न समयमा देखिएको छ । तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ, त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो, भन्सार पनि छलेर बाहिर गइसकेको थियो, यस पटक पनि सबै मिलाएको रहेछ । राजश्व अनुसन्धानले थाहा पाएर । नेपाल प्रहरी, भन्सार, राजश्व अनुसन्धान सबैलाई पहिला नै सुन आउँदै भन्ने थाहा थियो । नेपालका व्यापारीले तस्करीको सुन प्रयोग गर्दैनन् । बाहिर नै जान्छ ।’
नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनु नपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गर्नुभयो ।