यसपटक म निर्वाचित हुने आधार विगतमा मैले गरेको काम हो : अर्जुनप्रसाद जोशी | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

यसपटक म निर्वाचित हुने आधार विगतमा मैले गरेको काम हो : अर्जुनप्रसाद जोशी

२०५६ सालको संसदीय निर्वाचन,  २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरेका कांग्रेस नेता हुन् अर्जुनप्रसाद जोशी । अहिलेसम्म हेभीवेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाश गर्न भन्दै जोशी, एमाले नेता पदम गिरीसहितका नेता चुनावी मैदानमा छन् ।
जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ । अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ  । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई  तपाईले जित्छु भन्ने आधारहरु के के छन् भनेर सोधेका छौँ ।

चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको छ ?

सुन्दर नगरी पर्वतको उकाली ओराली अनि घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ ।

पर्वतबाट निर्वाचित भएर ‘हृयाट्रिक’ गर्नुभएको  तपाईलाई एमाले नेता पदम गिरीले २०७४ मा पराजित गर्नुभयो । गिरीसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको ?  

त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्दतले त्यतिबेला गिरीले जित्नु भयो, अहिले माओवादी र एकिकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले एक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो  ?

अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकाश गर्छ , समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनतामा  राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले विगतमा  गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरु म आएपछि फेरि गर्नुछ ।

२०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयबाट कस्तो पाठ सिक्नु भएको छ ?

२०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकासको एकखालको लहर चलाएँ । तर,  २०७४ को पराजयलाई मैले गम्भीर भएर समीक्षा गरेको छु । हिजो के कस्ता कमिकमजोरीहरु भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महसुस गरेको छु।

यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नुभएको थियो, यसपटक उक्त विषय यहाँको नजरमा छ कि छैन  ?

मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा  पूर्ण रुपमा पहल गनेछौँ ।

तीनपटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनुभएन  ?  यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला ?

गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रीय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलिका दिनमा म मन्त्री बन्न सक्छु ।

अर्को पटक पनि चुनाव लड्ने इच्छा छ कि यही अन्तिम हो  ?

राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरुलाई अवसर दिनुपर्छ भनेको हो । तर, अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेदवार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनीतिज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।

Leave a Reply