काठमाडौं । प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले लुम्बिनीसामु १६८ रनको योगफल खडा पारेको थियो । प्रदेश २ का लागि सन्तोषले ९२ बलमा सर्वाधिक ८२ रन बनाए । गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रनको योगदान गरे ।
लुम्बिनीका वासिर ऐमदले सर्वाधिक पाँच विकेट तथा विशालविक्रम शाहीले तीन र राहुल चौधरीले दुई विकेट लिए । ६ खेलमा १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ भने प्रदेश २ चार अंकसहित छैटौं स्थानमा छ ।
अर्काे फाइनल पुग्ने टोलीको भने टुंगो लागेको छैन । फाइनल पुग्न प्रदेश एक र सुदूरपश्चिम प्रदेशको सम्भावना जीवितै छ । अब, अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दा सुदूरपश्चिमले बाग्मती प्रदेशको प्रतिस्पर्धा गर्नेछ ।