काठमाडौँ, २२ कार्तिक । २०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए। त्यो बेला एमालेसँग चुनावी तालमेल थियो।
तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मेदवार पाएको छ। एमाले फेरि पनि चुनाव जिताउने भूमिकामा मात्रै छ, एउटा पनि उम्मेदवार पाउन सकेको छैन। यो विषय वाम गठबन्धनलाई ‘भित्रैदेखि मिलाउन’ बाधक देखिएको छ।
वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ उम्मेदवार पाएको छ। जिल्ला नै खाली गर्ने गरी भएको सहमतिप्रति एमालेका नेता कार्यकर्ता असन्तुष्ट छन्। एमाले जिल्ला कमिटीको १९ औं पूर्ण बैठकमा यसबारे ठूलो चर्काचर्की भयो। बैठकको मूल विषय नै यही बन्यो। बहुमत जिल्ला सदस्यले एमाले सधैँ अरूलाई जिताउने भूमिकामा मात्रै रहेकोमा दुखेसो पोखे। कतिपयले चुनावी प्रचार अभियानमा हिँड्न नसकिने गुनासो समेत गरे। – कान्तिपुर दैनिकबाट