समाचार | Page 4 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

समाचार

प्रतिनिधि सभा निर्वाचन, परिवर्तनकाे सुनामी र सन्देश

-टंक पन्त
देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने, न्यायालय लगायत संबैधानिक निकायमा भैहरहेकोे राजनीतिकरणलाई अन्त्य गर्ने , दलीय भागबण्डामा शासन चलाउने प्रथाको अन्त्य गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रमा भैरहेको ब्यापारिकरण अन्त्य गर्ने, सांसदको टिकट किनवेचको प्रथा अन्त्य गर्ने, सत्तामा जान सेवाका लागि नभएर आफनो र पार्टीको स्वार्थका लागि हानथाप गर्ने प्रबृत्तिको अन्त्य गर्ने, आफनो क्षेत्रमा मात्र देशको वजेट केन्द्रित गर्ने परंपराको अन्त्य गर्ने र देशमा सुशासन कायम गर्ने, सेवा प्रवाहलाई छिटोछरितो वनाउने, समृद्धि र बिकास नेपाली जनताको चाहनालाई पूरा गर्ने , सांसद कानून बनाउनका लागि हो भन्ने कुरालाई आत्मसात गरी ब्यबहारमा लागू गर्ने, लूट तन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन गर्ने, संबिधान बमोजिम समयमा बनाउनुपर्ने कानून बनाएर देशलाई बिधिको शासनमा परिणत गर्ने जस्ता अहं बिषयलाई पटक पटक सत्तामा जांदा पनि पूर्णत बेवास्ता गरेकै कारण जेनजी बिद्रोह भयो । जेनजी बिद्रोहकै कारण प्रधानमन्त्री, मन्त्री र नेताहरु सेनाको हेलिकप्टरमा चढेर ज्यान जोगाउन पर्दा पनि नचेतेका राजनीतिक दल र नेताहरुलाई २०८२ फागुन २१ गते एकै चरणमा ऐतिहासिक र शान्तिपूर्ण रुपमा संपन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनले थला पर्ने गरी दण्डित गरेको छ ।

जनताले यस पटक अहम घमण्ड, दम्भ र कुशासनको पहाडलाई छिया छिया हुने गरी भत्काएको छ । कुशासन र भ्रष्टाचार अन्त्य, २०४६ पछि सत्तामा गएर तर मारेका नेता देखि संबैधानिक निकाय, ब्यूरोक्र्याट एवं अन्य सरकारी ओहोदमा बसेका वा सरकारी ओहोदामा बसेकालाई आफनो चंगुलमा पारेर स्वार्थ सिद्धी प्राप्त गरेका बिचौलियालाई कारवाही गर्ने, भ्रष्टहरुको संपत्ति छानविन गरी कारवाही गर्ने, स्वदेशमा रोजगार सिर्जना गरी बिदेश जान बाध्य नपारौ भन्ने उद्धेश्यका साथ भएको जेनजी बिद्रोह माथि गोली ठोकेर हत्या गर्नेहरुले त्यसको सामान्य रियालाइजेशन गर्ने भन्दा पनि विद्रोहलाई खिसिट्याउरी गर्ने, यी केटाकेटीहरुको हुलहुज्जतवाट सुशिला कार्कीको नेतृत्वको सरकार बनेको भनी नागरिक सरकारको खिल्ली उडाउने, आफू सत्तावाट हटनुपरेको पीडा पोख्ने क्रममा गृहमन्त्री लगायतलाई बावु केटाकेटी भन्नेलाई पनि निर्वाचनले पचास हजारको अन्तरले झापड दिएको छ ।

जनताले ब्यालेट बक्समा मत जाहेर गरेर झापड त दिएका छन् तर कानूनी झापड भने दिन बाँकी नै छ । जेनजी बिद्रोहमाथि दमन र घटनाहरुको छानविन गर्न गठित जांचबुझ आयोगले कलिला युवालाई हत्या गर्नेलाई कारवाही गर्न सिफारिश गरेको हुनाले सोही आधारमा कारवाही गरेर दण्डहीनताको अन्त र कानुनी शासन प्रारंभ भएको सन्देश दिनुपर्ने हुन्छ । नेपाली जनतालाई कमजोर ठानेर हेप्ने, पार्टीमा पनि आफ्नो भन्दा फरक बिचार राख्नेलाई पार्टीमा बस्न नदिने गरी वातावरण बनाउने मात्र होइन पार्टीवाटै उछिट्याउने जस्ता काम एमाले अध्यक्ष केपि शर्मा ओलीले गरे त्यसको जवाफ राम्ररी निर्वाचन परिणामले दिएको छ । यो निर्वाचन परिणाम आएपछि पार्टी नेतृत्वमा बस्नु भनेको पार्टीलाई थप कमजोर बनाउनु हो । नेपाली कांग्रेस अहिले कमजोर देखिएपनि पुनः उठन सक्ने गरी उकालो लाग्ने निश्चित छ किनकि उसले आफूलाई रिभाइभ गरेको छ । तर एमालेले नेतृत्व परिवर्तन गरेन र अहिलेकै असक्षम नेतृत्व कायमै राखे पार्टी झन कमजोर बन्दै जाने छ । त्यस कुरालाई पार्टीको सिंगो कमिटीले बिचार गर्ने नै छ र अनिवार्य रुपमा गर्नुपर्छ ।

बिगतमा देउवा नेतृत्वको कांग्रेस र ओली नेतृत्वको एमाले र ती दुवै नेताको स्वार्थका लागि बनेको जेनजी बिद्रोहवाट सत्ताच्यूत ओली सरकारले सरकारी संयन्त्र समेतको दूरुपयोग गरी महानगरपालिकामा निर्वाचित मेयरलाई काम गर्न नदिने गरी सिगो पार्टीका नेता कार्यकर्ता परिचालन गर्ने, पार्टी सभापति र उपप्रधानमन्त्री गृहमन्त्री भैसकेका ब्यक्तीलाई उज्यालो हुन पनि नदिई सुतिरहेको अबस्थामा उठाएर रातारात हिडाउने, मुद्धा चलाउने नाममा देशब्यापि रुपमा अदालतमा पुरयाउने जस्ता क्रियाकलापकै कारण रास्वपाको क्रेज झन बढाउन सहयोग गरेको कुरा सबैले भनेकै थिए र निर्वाचनमार्फत जनताले प्रष्ट सन्देश दिएका छन् । गठवन्धन र समीकरणका नाममा मिलीजुली खाने प्रथाको अन्त्य, भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्न एक मना सरकार बनोस र निर्धक्कसँग जनताको काम हुन सकोस भनी जनताले रास्वपालाई दुइ तिहाइ सहितको शानदार अभिमत दिएका छन् त्यो अभिमतको कदर गरेर रास्वपा अगाडि बढ्ने महान अबसर पैदा भएको छ त्यसको प्रयोग कानून नियम भित्र रहेर खरो रुपमा उत्रिन रास्वपा सकोस भन्ने आम नागरिकको चाहना रहेको छ । मतदान गर्दा नै त्यो चाहना खुला रुपमा मतदाताले भनेका थिए ।

अब रास्वपाले संवैधानिक निकायमा रहेका सबै पदाधिकारी र सदस्यहरुको पुनर्नियुक्तिको प्रक्रिया थालनी गर्ने, बिभिन्न सरकारी निकाय र संस्थामा पार्टीका नेताको इच्छा अनुसार नियुक्ती खाएका सबै पदाधिकारीको पुनर्नियुक्ती गर्ने र कर्मचारीको पनि योग्यता र क्षमताका आधारमा टिओआर नै दिएर जिम्मेवारी दिनुपर्छ तव मात्र आम नागरिकले सहजरुपमा सेवा पाउने छन भने स्वास्थ्य र शिक्षामा बढ्दो ब्यापारिकरणलाई पूर्णतः अन्त नै गर्नुपर्छ । देश र जनताको पक्षमा काम गर्नका लागि सबैधानिक र कानुनी बाधा अडचन हुन सक्छन त्यसका लागि दुई तिहाइ सहितको एकल सरकार बन्ने निश्चित भएकोले त्यसतर्फ अगाडि बढन हिच्किचाउनु हुदैन । जनताले दिएको म्याण्डेट दिएको त्यसैका लागि हो । दुइ तिहाइ छ भनेर मात्तिने काम भयो भने दुइ तिहाइको सरकार पनि लामो समय जाने छैन । किनकि अहंम दम्भ र घमण्डले के सम्म गर्दो रहेछ भन्ने कुरा यहि निर्वाचनको परिणाले देखाएको कुरा सम्झिनुपर्ने छ ।

पटक पटक पप्रधानमन्त्री हुंदा पनि जनताको पक्षमा काम नगर्ने उल्टै उम्मेदवार हुन पाउने अधिकार प्रयोग गरी निर्वाचन पछि प्रधानमन्त्री हुने घोषणा सहित झापा पुग्दा प्रतिष्पर्धी माथि गरिएकोे ब्यबहार र उडाउने काम जसरी एमाले अध्यक्ष केपि शर्मा ओलीले गरे जसले गर्दा उनी सर्वनाक रुपमा पराजित मात्र भएनन् उनकै घमण्डको उर्लदो बोली र उखान टुक्काले बलियो संगठन रहेको पार्टीलाई नै लाजमर्दो अबस्थामा पुरयाए । हुन पनि दुइ तिहाइको कम्युनिष्ट सरकारलाई उनैले धुजा धुजा पारे, दुइ दुइ पटक संसद बिघटन गरे, कांग्रेस एमाले मिलेर आफनो स्वार्थका लागि पुन उनैको नेतृत्वमा सरकार बनाउदा पनि देशमा निराशाको भाष्यले ठूलो बिद्रोह मात्र गराएन कि इतिहासमै नभएको क्षति समेत गरायो । यस्तो आफै सत्तामा बस्ने अनि ठूलो ग्राइन डिजाइन रहेछ भन्ने ? त्यो कुरा त सत्तामा सम्पूर्ण डाडू पन्यू लिएर बसेकाले थाहा पाउनु पर्दैन ? अनि बिदेशी चलखेल भयो भन्न लाज नमान्ने ? पार्टीमा रहेका जिम्मेवार नेताले त्यो अहंम घमण्डलाई टुलुटुलु हरेर मात्र बसेनन् उनैको झोले बन्न पुगे जसले गर्दा पार्टीले निर्वाचनमा यो हद सम्मको हार ब्यहोर्नु परयो ।

त्यति मात्र कहां हो र नेपाली कांग्रेसले पार्टीलाइ पुनर्ताजकी बनाउन गगन थापा र बिश्व प्रकाश शर्माको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनमाथि पनि ओलीले खिल्ली उडाउने काम समेत गरे । आज गगन थापा र बिश्व प्रकाश शर्मा सहितका नेताहरुले त्यो आंट नगरेको भए अहिलेको यो निर्वाचनमा अझ बढी सर्वनाक अबस्था ब्योर्नुपर्ने निश्चित थियो । तर झण्डै ४० बर्ष देखि प्रायः सत्ता बाहिर नभएको कारण नेपाली कांग्रेसलाई पनि निर्वाचनले नराम्रोसंग झापड दिएको छ । तर गगन थापा सहितका नेताहरुलाई पार्टीलाई पुनर्ताजगी बनाएकोले संसदमा उपस्थिति ठिकै बन्न गयो । यदि शेरबहादुर देउवाकै नेतृत्वमा निर्वाचनमा गएको तराइ केन्द्रित दलको जस्तो हविगत हुने निश्चित थियो ।

प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिष्ट पार्टीले पनि जनयुद्धपछि भएको निर्वाचनमा ठूलो अबसर पाएको थियो तर त्यो पार्टी र त्यसका धेरै नेताहरुले जनयुद्धमा उठाएका मुद्धा, सवाल र त्यसवेला पाएको दुख र संघर्षलाई बिर्सेर जसरी आफू र आफना लागि स्वार्थमा केन्द्रित भएर कमाउ र खाउ भन्ने कुरामा केन्द्रित भै सत्ताका लागि जसो पनि गर्ने काममा लिप्त भए जसको कारण अहिले संपन्न भएको निर्वाचनले झापड मात्र दिएको छैन राम्रैसंग सबक सिकाएको छ । मधेश केन्द्रित दलको कुरा पनि त्यहि हो ।मधेश केन्द्रित दलका नेताहरु पनि सत्ता स्वार्थमा मात्र केन्द्रित भए ।जसको नेतृत्वमा सरकार बनेपनि सरकारमा गैहाल्ने ध्याउन्नमा उनीहरु रहिरहे । आज त्यसको जवाफ ब्यालेट बक्स मार्फत जनताले दिएका छन ।

यस पटक जनताले निर्वाचन मार्फत ऐतिहासिक परिणाम दिएका छन् त्यसको सदुपयोग गरेर अगाडि जान सके भने केही न केही हुने छ । भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, समृद्धि र स्थायित्व प्रदान गर्ने, शिक्षा र स्वास्थ्यमा भैरहेको ब्यापारिकरण रोक्ने, बेथिति अन्त्य गर्ने, संबैधानिक निकाय र ब्यूरोक्रेसीलाई राजनीतिवाट मुक्त बनाउने, कर्मचारी क्षेत्रमा रहेका राजनीतिक संगठन खारेज गर्ने, संबिधान सशोधन गरी लुटतन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन गर्ने र आम जनताले उठाएका र जेननी बिद्रोहले उठाएका बिषयलाई समय तोकेरै यति समय सम्म यो यो गरिने छ भनी संवोधन भएमा अबश्य पनि मुलुकमा स्थायित्व हुने छ । मुलुक सिस्टमा जाने छ । मुलुकलाई सिष्टममा लगी दण्डहीनताको अन्त्य हुनासाथ धेरै कुरा स्वतः हुदै जाने छन् । यदि जनताले ब्यालेटबक्समा देशको अनुहार फेर्ने गरी दिएको मतलाई ख्याल गरिएन भने धेरै समय टिकाउ हुने छैन भन्ने कुरा नयां शक्तिले बुझ्ने नै छ ।

जनताको चाहना अनुसार मुलुकलाई सिष्टममा लैजानका लागि थरिथरि बिचार भएका ब्यक्तिहरु रास्वपाकाे टिकटबाट निर्वाचित भएका छन । देशका लागि केही गरेर देखाउ भन्ने मात्र सोचेर काम गरियो भने नेताहरुमा बिवाद हुने छैन जब स्वार्थका लागि अगाडि बढन खोजिन्छ त्यतिखेर बिवाद सिर्जना हुनेछ र त्यो बिवादले देशलाई अगाडि बढाउने बाटोमा कांडा तेर्सिन सक्छन् । त्यसतर्फ पनि सचेत हुनुपर्ने छ । आम नागरिकहरु निकै सचेत छन् धेरै समय पर्खिेने अबस्थामा हुने छैनन । अर्को कुरा निर्वाचनवाट पराजित भएका हिजो बर्षौ सम्म सत्ताको स्वाद चाखेका पुराना पार्टीले कहांनेर गल्ती भेटिन्छ भनेर खोज्ने पनि छन् सत्ताको स्वादले अनुभवी भएका हुनाले उनीहरुलाई गल्ती थाहा पाउन कुनै मेहनत गर्नुपर्ने छैन ।

जेनजी विद्रोहपछि बनेको सरकारले ऐतिहासिक रुपमा निर्वाचन गराउन कसरी सफल भयो भन्ने बिषय पनि अहम छ । किनकि सुशिला कार्कीलाई फेरि सत्तामा जाने लोभ लालच थिएन, सुरक्षा निकाय र कर्मचारी संयन्त्रलाई कार्की नेतृत्वको सरकारले दुरुपयोग गरेन, मैले भनेको मानिनस भने भोलि हामी सत्तामा आएपछि ठेगान लगाउछौ भनी विगतका दलीय सरकारले जस्तो धम्की दिने काम पनि सुशिला कार्की नेतृत्वको सरकारवाट भएन । जसले गर्दा निर्वाचन आयोग, सुरक्षा निकायका चारै अंगहरु, ब्यूरोक्रेसी र सरकारवीचको समन्वय जसरी हुन्छ निर्वाचन एकै चरणमा शान्तिपुर्ण भयरहित रुपमा संपन्न गर्ने कुरामा एउटै अर्जुन दृष्टि बन्यो नभन्दै कुनै एक ठाउमा पनि बुथ कब्जा भएन, गोली चलेन, हुल दंगा भएन, एक जना पनि घाइते भएनन, विवाद भएर कुनै मतदान केन्द्रको मतदान अर्को दिन सार्नु पर्ने अबस्था भएन । यस्तो शान्तिपूर्ण र भयरहित निर्वाचन बहुदलीय ब्यबस्था पछि नै भएको थिएन । बिगतमा प्रधानमन्त्री, मन्त्री उम्मेदवार हुने अनि सत्ताको चरम दुरुपयोग गरेर चुनाव प्रचार प्रसारमा जाने गर्थे यस पटक त्यो पनि भएन । जेनजी बिद्रोहपछि मन्त्रालय चलाएका मन्त्रीहरुले सामान्य कुर्सी टेवलमै बसेर काम गरे । बिगतमा जस्तो मन्त्री नयां फेरिना साथ कार्यालय देखि निवास सम्म फर्निचर फेरेर लाखौ झ्वाम पार्ने काम पनि यस पटक भएन । कार्यालयमा खाजाको भण्डार गर्ने र निवास सम्म पुरयाउने काम पनि भएन । प्रधानमन्त्री सुशिला कार्कीकै शब्दमा भन्ने हो भने मन्त्रालयमा चिया खाएर कार्यालयको काम प्रधानमन्त्री देखि मन्त्रीहरुले गरे ।

मितब्ययिताको सन्दर्भमा सरकार खरो सावित भयो । त्यतिमात्र होइन एउटा मात्र उदाहरणलाई लिदा ०४६ सालको राजनीतिक परिवर्तन पछि व्रिफकेश नवुझाइकन प्रहरी महानिरीक्षक बन्ने भाग्यमानी दानबहादुर कार्की मात्र भए । अब यो निर्वाचनपछि बन्ने सरकारले पनि सुशासन कायम गर्ने सन्दर्भमा यस्तै उदाहरणलाई अनुशरण गरी संबैधानिक निकाय, कुटनीतिक निकाय वा जिम्मेवार पदमा योग्य र स्वच्छ छवि भएका ब्यक्तिको नियुक्ति गर्ने, अनाबश्यक सचिवालय नबनाउने, स्वकीय र निजी सचिवका नाममा हुने बेथितिको अन्त्य गरी अत्याबश्यक बाहेक खर्च नगर्ने गरी जनताको सेवामा तल्लीन भएर काम हुने अपेक्षा र बिश्वास आम नागरिकहरुको रहेको छ त्यो बिश्वास ब्यबहारमा परिणत हुन सकोस भन्ने जनमतको म्याण्डेट हो कुरालाई राम्रो गरी बुझ्नुपर्ने छ ।

[email protected]

 

निर्वाचन शान्तिपूर्ण तर आचारसंहिता कार्यान्वयन र चुनावी खर्चमा व्यापक कमजोरी रहेको एन्फरेलको निष्कर्ष

काठमाडाैं । एशियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) ले नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । एन्फरेलले आईतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको हो ।

राजनीतिक अस्थिरताका बाबजुद जनताको उत्साहजनक सहभागिता देखिए पनि संस्थाले निर्वाचन आचारसंहिताको फितलो कार्यान्वयन, चुनावी खर्चको अपारदर्शिता र समावेशी सहभागितामा रहेका संरचनागत बाधाहरूप्रति भने चिन्ता व्यक्त गरेको छ । गत भदौ २३ र २४ को राजनीतिक उथलपुथलपछि ध्रुवीकृत र सङ्क्रमणकालीन वातावरणमा यो निर्वाचन सम्पन्न भएको थियो । एन्फरेलले खटाएको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण नियोगको प्रारम्भिक प्रतिवेदनअनुसार छोटो समय र अपूर्ण पदाधिकारीका बाबजुद नेपालको निर्वाचन आयोगले गरेको प्राविधिक तयारी सन्तोषजनक रहेको छ ।

निर्वाचन आयोगप्रति सरोकारवालाहरूको विश्वास उच्च देखिए पनि, विशेषगरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा भने कमी रहेको औंल्याइएको छ ।

चुनावी अभियानका क्रममा आचारसंहिताको कार्यान्वयन प्रमुख चिन्ताको विषय बनेको प्रतिवेदनमा उल्लेख छ । अनुगमन संयन्त्र भएपनि कारबाही प्रक्रिया अत्यन्तै कमजोर र असंगत देखिएको एन्फरेलको निष्कर्ष छ । आचारसंहिता उल्लंघन र चुनावी खर्चका विषयमा बारम्बार उजुरी पर्दासमेत कारबाही नहुँदा राजनीतिक दल र उम्मेदवारहरूमा जवाफदेहिताको कमी देखिएको औंल्याइएको छ ।

चुनावी खर्चको नियमनमा गम्भीर संरचनागत कमजोरी देखिएको पनि बताइएको छ । कानूनले खर्चको सीमा तोकेको भएपनि वास्तविक खर्च तोकिएको सीमाभन्दा निकै बढी हुने गरेको उनीहरको भनाइ छ । चुनावी खर्चको विवरणमा सर्वसाधारणको पहुँच नहुँदा पारदर्शिता र सार्वजनिक निगरानीमा कमी आएको छ । यस्तो परिपाटीले धनी उम्मेदवारहरूलाई फाइदा पुगेको र यसले महिला तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धामा संरचनागत अवरोध खडा गरेको प्रतिवेदनको ठहर छ ।

सुरक्षा व्यवस्थाको सन्दर्भमा, मतदान केन्द्रहरूमा खटिएका सुरक्षाकर्मीहरूले शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण भुमिका खेलेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थिति आवश्यक रहेको सरोकारवालाहरूले महशुस गरेका भएपनि मतदान केन्द्रभित्रै हतियारधारी सुरक्षाकर्मीको उपस्थितिलाई भने पर्यवेक्षकहरूले विशेष चासोका साथ लिएका छन् ।

युवा सहभागिता उत्साहजनक तर समावेशीता र पहुँचमा अझै चुनौती महिला तथा सीमान्तकृत समुदायको न्युन प्रतिनिधित्व, दलभित्रको एकाधिकार र संरचनात्मक पहुँचको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ । निर्वाचनमा युवाहरूको उत्साहजनक उपस्थिति देखिए पनि उम्मेदवारी चयनमा दलहरूले नै अवरोध खडा गरेको तथा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्षतर्फको निर्वाचन प्रणालीमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व अझै पनि अत्यन्त न्युन छ । संविधानले समावेशीताको सुनिश्चितता गरे पनि व्यवहारमा त्यसो हुन नसकेको एन्फ्रेलको ठहर छ । यस्तै, निर्वाचन अघिको नागरिक आन्दोलन र निर्वाचनको समयमा युवाहरूको बाक्लो उपस्थिति देखिए पनि परम्परागत राजनीतिक दलहरूको संकीर्णताका कारण युवाहरूलाई उम्मेदवार बन्न र औपचारिक राजनीतिक प्रतिष्पर्धामा आउन कठिन भएको उल्लेख गरिएको छ ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई सास्ती मतदान केन्द्रहरूको भौतिक संरचना र पहुँच अर्को प्रमुख समस्याको रूपमा देखिएको छ । विशेषगरी पहाडी र भिरालो स्थानमा रहेका विद्यालय वा सार्वजनिक भवनहरूमा मतदान केन्द्र राखिँदा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका मतदाताले सास्ती खेप्नुपरेको छ । यद्यपि मतदान कर्मचारी र सुरक्षाकर्मीले सहयोग गरे पनि संरचनात्मक पहुँच भने असमान रहेको प्रतिवेदनमा भनिएको छ । अहिले युवा पुस्ताले खोजेको जवाफदेहिता, संस्थागत सुधार र राजनीतिक नविकरणको मागलाई सम्बोधन गर्ने प्रमुख जिम्मेवारी अब पुराना र नयाँ दुवै राजनीतिक दलहरूको काँधमा आएको छ। लोकतान्त्रिक मूल्यमान्यताको सम्मान र अर्थपूर्ण सुधारप्रतिको प्रतिवद्धताले मात्र नेपालको लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास सुदृढ गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ ।

एशियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) सन् १९९७ मा स्थापना भएको थियो । यसले एशियामा निर्वाचन अवलोकन, क्षमता विकास र प्रवद्र्धनमार्फत लोकतान्त्रिक निर्वाचन प्रवद्र्धन गर्ने गरेको छ । यसका १८ देशमा २८ सय बढी सदस्य संस्था रहेका छन् । नेपालमा भने एन्फरेलले २०१७ को आम निर्वाचन र २०२२ को संघीय तथा प्रदेश निर्वाचनको अवलोकन गरेको थियो ।

मुचुल्का र मतपेटिकाको मतसंख्या फरक परे ‘मतपेटिकाकै मत’ आधिकारिक मानिने : निर्वाचन आयोग

काठमाडाैं । निर्वाचनका क्रममा मतदान अधिकृतले तयार पारेको मुचुल्का प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको प्रत्यक्ष मतसंख्या बीच केही स्थानमा फरक परेको पाइएपछि निर्वाचन आयोगले त्यसमा स्पष्ट कानूनी व्यवस्था अनुरूप अघि बढ्न निर्देशन दिएको छ । ओखलढुंगा लगायतका केही जिल्लामा यस्तो समस्या देखिएपछि आयोगले देशभरका लागि एकरूपता हुनेगरी निर्णय कार्यान्वयन गराएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले यस्तो मानवीय त्रुटिका कारण मतदान अधिकृतले दिएको प्रतिवेदन (मुचुल्का) र मतपेटिका खोल्दा निस्किएको मतसंख्या बीच तलमाथि पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै आयोगले मतगणना निर्देशिकामा नै स्पष्ट व्यवस्था गरेको छ । यस स्पष्ट व्यवस्थाले गर्दा मतगणना स्थलमा हुनसक्ने सम्भावित विवादहरू समाधान गर्न र मतगणना कार्यलाई सुचारु राख्न मद्दत पुगेको आयोगको भनाइ छ ।

निर्देशिकाअनुसार यदि मतदान अधिकृतले दिएको प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको मत फरक परेको खण्डमा ‘मतपेटिकामा भएको मतलाई नै आधिकारिक मानिने’ कानूनी व्यवस्था रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । आयोगले यही कानूनी व्यवस्था र परिपत्रलाई आधार मानेर देशभरका सबै निर्वाचन क्षेत्रमा समान खालको निर्णय लागू गरेको छ ।

फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिकको सबै मतगणना सकिन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगका अनुसार फागुन २७ गतेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ।

आयोगका अनुसार हाल प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी ३ क्षेत्रको मतगणना जारी रहेको छ। मतगणना भइरहेको क्षेत्रको परिणाम साेमबार दिउँसोसम्म घोषणा हुने अपेक्षा गरिएको आयोगले जनाएको छ।

त्यस्तै समानुपातिकतर्फ खसेको कुल १ करोड ९ लाख मतमध्ये हालसम्म करिब ६६ लाख मत मतगणना सम्पन्न भएको छ। आयोगले पर्सी फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सम्पन्न हुने अपेक्षा गरेको छ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अर्थमन्त्री खनालद्वारा निर्वाचन आयोगको प्रशंसा

काठमाडाैं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अनिश्चयर र चुनौतिका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । मन्त्री खनाालले आईतवार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीलाई भेटी धन्यवाद प्रकट गर्नुभएको हो ।

निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चय र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दे उहाँले जटिल अवस्थामा पनि निर्वाचन आयोग कार्यतालिका भित्रै कार्य सम्पन्न गर्नेमा कटिवद्ध रहनुले निर्वाचनको सम्पूर्ण श्रेय आयोगलाई जाने बताउनुभयो । उहाँले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।

निर्वाचनका क्रममा सुरक्षा संयन्त्र र सबै सरोकारवाला निकायबीचको सहकार्य प्रभावकारी रहेका कारण यसपटक कतै पनि हातपात, बुथ कब्जा वा फर्जी मत खस्ने जस्ता गतिविधि नभएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय निकायहरूले समेत यस निर्वाचनलाई निकै शान्तिपूर्ण मानेको उल्लेख गर्दै मन्त्री खनालले कुनै पनि ठाउँमा निर्वाचन स्थगन नभई तोकिएकै दिनमा सम्पन्न हुनुलाई ठूलो उपलब्धिका रूपमा चित्रण गर्नुभयो । उहाँले राजनीतिक दल र उम्मेदवारहरूले देखाएको मित्रवत व्यवहार र स्वच्छ सहभागिताले लोकतन्त्रलाई थप मजबुत बनाएको बताउनुभयो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पनि आयोगको कार्यालय पुगेर धन्यवाद दिनुभएको छ । त्यसैगरी नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र शसस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि आयोग पुगेर शाान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवादन दिनुभएको थियो ।

अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर

काठमाडाैं । नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्र समेत उत्साहित देखिएको छ । पछिल्ला वर्षहरुमा कुनैपनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनको सरकार बन्ने र अनेकाैँ स्वार्थले ती सरकार छोटो समयमै भंग हुँदा राजनीतिक अस्थीरताको मारमा निजी क्षेत्र पर्दै आएको थियो ।

हालै सुशीला कार्की नेतृत्वको अन्तरीम सरकारले गराएको चुनावमा दुई वर्ष अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुइ तिहाइ नजिकको बहुमत प्राप्त गर्ने निश्चित भएसँगै अब पाँच वर्षसम्म स्थिर सरकार बन्ने भएपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । छिटो मतगणना सकेर अब पूर्ण कार्यकालको सरकार बनाउन लागिहाल्नुपर्ने र अब बन्ने दुई तिहाइ नजिकको रास्वपा सरकारसँग मिलर अघि बढ्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अहिले अवस्थामा असम्भव जस्तै देखिने एउटै पार्टीले दुई तिहाइ नजिक बहुमत हासिल गर्नु सामान्य कुरा नभएको बताउनु भयो । उहाँकाअनुसार निजी क्षेत्रले बारम्बार उठाउँदै आएको स्थायि सरकारको आफूहरुको माग पूरा हुन लागेको बताउनु भयो । अग्रवालकाअनुसार अब बन्ने सरकारका अर्थनीतिहरुको स्थायित्व हुन जरुरी छ । संविधान जारी भएयता अर्थनिजी ढुलमुल भयो । जसले गर्दा निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्यो र विदेशी लगानीकर्ता पनि अलमलमा परे । अब त्यस्तो हुनु हुँदैन ।

उहाँले अब आउने सरकारले करका नीतिहरु लगानी प्रवद्र्धन गर्ने खाले हुनुपर्ने बताउनुभयो ।

होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले अब बन्न लागेको दुई तिहाइको सरकारसँग सहकार्य गर्न आफूहरु आतुर रहेको बताउनुभयो । उहाँकाअनुसार अब बन्न लागेको दुई तिहाइ नजिकको सरकारले आउँदा दिनमा सुशासन कायम गर्दै भ्रष्टाचार निर्मुल पार्नुपर्छ । जेनजीहरुको मागलाई पूर्ण रुपमा सम्बोधन गर्नुपर्छ ।

दुई तिहाइ बहुमत नजिक प्राप्त गरेको रास्वपाले आफ्नो घोषणापत्रमै पर्यटन र होटल क्षेत्रमा धेरै कुरालाई समेटेकाले ती कुराहरु अक्षरम्स लागू गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । शाहकाअनुसार अबौँ लगानीमा बनाइएका पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याएर धेरै पर्यटक भित्राउन सरकार चुकिरहेको छ । अब बन्ने सरकारले त्यसलाई पूर्ण रुपमा संचालन गर्न मास्टर प्लान बनाउनुपर्छ ।

बहुमत प्राप्त सरकारले पुराना कानूनहरुमा व्यापक रिफर्म गरेर मुलुकलाई अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ । शाहकाअनुसार अहिले भन्दा दोब्बर पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले सरकारले सोही अनुसारको वातावरण बनाउन लाग्नुपर्छ ।

सुनसरी-१ बाट श्रम संस्कृति पार्टीका हर्क सामपाङ विजयी

काठमाडाैं । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले भन्दा सामपाङले ८ हजार ४९२ मतान्तर ल्याउन सफल भए । तामाङले २७ हजार २४९ मत ल्याइन् ।

यसअघि श्रम संस्कृति पार्टीकै आरेन राईले खोटाङ १ बाट जित निकालेका छन् । त्यस्तै भोजपुर १ मा पनि प्रारम्भिक गणनामा यहीं पार्टीका ध्रुवराज राईले अग्रता लिएका छन् ।

जेन-जी प्रदर्शन जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, कारबाहीको सिफारिस्

काठमाडाैं । जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । आयोगले विशेषगरी २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माकाअनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिव ९ सय भन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज करिव ८ देखि १० हजार पृष्ठको रहेको शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिवेदनमा २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपले विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सय भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान कागज गराइएको, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय सुझाव लिएर विस्तृत रूपमा काम गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगलाई धन्यवाद दिनुभएको सदस्य शर्माले बताउनुभयो । प्रधानमन्त्रीले प्रतिवेदन अब सरकारको सम्पत्ति भएको र यसमाथि सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको पनि शर्माले बताउनुभयो ।

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

काठमाडाैं । सिराहा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी हुनुभएको छ।

निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार, गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले नौ हजार ७८४ मत प्राप्त गर्नुभएको छ।

सिराहा–१ मा रहेका ४१ वटै वडामा प्रथम स्थान हासिल गर्न सफल गुप्ताले, कांग्रेसका पुराना नेता चौधरीभन्दा चार गुणभन्दा बढी मत प्राप्त गर्दै विजयी हुनुभएको हो। तेस्रो स्थानमा नेकपा एमालेका पूर्व प्रतिनिधि सभा सदस्य राम शङ्कर यादवले सात हजार ८८६ मत प्राप्त गर्नुभयो भने पूर्वमन्त्री रामचन्द्र यादव दुई हजार ८५३ मतमा सिमित रहनुभयो।

३१ हजार ५३८ मतको फराकिलो अन्तरले निर्वाचित भएका गुप्ताले प्रमाणपत्र ग्रहण गर्दै मतदातासँग गरेको वाचा पुरा गर्ने दृढता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यतिका फराकिलो मतले विजयी गराउनुहुने मतदाताको दुःख–सुखमा सधैं साथ रहने छु।”

‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’ : प्रधानमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ ।  आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो ।

उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी नहुने पनि स्पष्ट पार्नुभयो । देशको विशेष र जटिल अवस्थामा सम्पन्न भएको निर्वाचनले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यसलाई नेपाली जनता, नेपाल राष्ट्र र संविधानको ठूलो विजय भएको बताउनु भयो । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुने उहाँको भनाइ छ ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न योगदान गर्ने सम्पूर्ण नेपाली जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा पर्यवेक्षकहरूप्रति उहाँले आभार व्यक्त गर्नुभयो । महिला लगायत विकासको मूल धारबाट पछि परेको वर्गलाई अवसर र स्रोतहरूमा पहुँच सुनिश्चित गर्दै राष्ट्र निर्माणमा सम्मानयुक्त सहभागिता गराउनु नै आजको लोकतन्त्रको मूल अभीष्ट हुनुपर्नेमा प्रधानमन्त्री कार्कीले जोड दिनुभयो ।

काभ्रेका दुबै क्षेत्रमा अत्यधिक मतसहित रास्वपाकाे विजय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्।

काभ्रे–१ बाट रास्वपाका मधुकुमार चौलागाईं विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ६२ मतान्तरले पराजित गर्नुभएको हो। चौलागाईंले २९ हजार ६ सय १८ मत प्राप्त गर्दा मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका दिननाथ गौतमले १४ हजार १ सय ८४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमि तामाङले १३ हजार ८ सय १४ मत प्राप्त गर्दै पराजित भएका छन्।

यसैगरी काभ्रे–२ बाट पनि रास्वपाका बदनकुमार भण्डारी विजयी हुनुभएको छ। भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८ सय ६८ मत प्राप्त गर्दै पराजित हुनुभएको छ।

विगतका निर्वाचनहरूमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा मुख्यतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको प्रभाव रहँदै आएको थियो। तर यसपटकको निर्वाचनमा भने रास्वपाले दुवै क्षेत्रमा जित हासिल गर्दै नयाँ राजनीतिक समीकरण देखाएको छ।

अमरेश सिंहलाई प्रतिस्पर्धी कांग्रेस सभापति थापाले दिए बधाई

काठमाडाैं । सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गर्नुभएको छ ।

थापाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।

कांग्रेस सभापति थापाले आफूलाई माया, विश्वास र मत दिनुहुने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले यस क्षेत्रमा देखिएका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तररूपमा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

निर्वाचनकाे गम्भीर समीक्षा गरेर कांग्रेस नियमित महाधिवेशनमा जुट्छ : उपसभापति शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ ।

उहाँले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो । विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आगामी दिनमा काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पार्नुभयो । अब काँग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उहाँले बताउनुभयो ।

श्रम संस्कृति पार्टीले खाता खाेल्याे, खाेटाङबाट आरेन राई विजयी

काठमाडाैं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ । खोटाङमा आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको हो । राई १६ हजार ६१२ मतसहित विजयी हुनु भएको हो ।

नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ र नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत पाउनुभयो ।

दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित

काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाएका छन् ।

पूर्वउपसभामुख मगरद्वारा पूर्वसभामुख घिमिरे भारी मतले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका घिमिरे पूर्वउपसभामुख इन्दिराराना मगरसँग पराजित भएका हुन् ।

रास्वपाबाट उम्मेदवार बनेकी मगरले ५२ हजार ३०६ मत पाउँदा घिमिरेले ९ हजार ८०५ मत पाए यस्तै श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारीले ६ हजार ३४७ मत पाए । नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।