फागुन २१ बुधबार ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर युक्रेनमा दीर्घकालीन शान्तिका काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।ह्वाइट हाउसमा रहेको ओभल अफिसमा चर्काचर्की भएको केही दिनपछि जेलेन्स्कीले अब कुरा मिलाउने समय आएको बताएका हुन ।
अमेरिकाले युक्रेनमा सैन्य सहायता स्थगित गर्ने घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ह्वाइट हाउसमा भएको वादविवादलाई पश्चातापयोग्य भनेको बीबीसीले जनाएको छ ।जेलेन्स्कीले युद्ध अन्त्य गर्ने पहिलो चरणको प्रारूप समेत तयार पार्नुभएको छ ।
जसको पहिलो चरण बन्दीहरूको रिहाइ र हवाई युद्धविराम, क्षेप्यास्त्रहरूमा प्रतिबन्ध, लामो दूरीको क्षमताका ड्रोनमा रोक तथा ऊर्जा र अन्य गैरसैनिक पूर्वाधारहरूमा बम आक्रमण रोक्ने हुन सक्ने उल्लेख छ ।रुसले पनि त्यसको पालना गरे त्यसलगत्तै समुद्रमा पनि युद्धविराम गर्न सकिने जेलेन्स्कीले उल्लेख गरेका छन। उनले भविष्यमा दुई देशबीच हुने सहकार्य र सञ्चार रचनात्मक हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
अमेरिका भ्रमणका क्रममा हुन नसकेको खनिज सम्झौता गर्न पनि युक्रेन तयार रहेको उनले दोहोर्योएकन छन । आफ्नो पोस्टमा जेलेन्स्कीले अमेरिकाले आफ्नो देशलाई दिएको सहयोगबारे स्पष्ट शब्दमा कृतज्ञता पनि व्यक्त गरेका छन ।गएको शुक्रवारको बैठकमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति कृतज्ञ नभएको आरोप जेलेन्स्कीलाई लगाएका थिए ।जेलेन्स्कीको पोस्टबारे प्रतिक्रिया दिँदै बेलयातका प्रधानमन्त्री सर किअर स्टार्मरले शान्ति स्थापित गर्ने दृढ प्रतिबद्धता भएको बताएका छन । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनि ट्रम्पसँग पुनः वार्तामा बस्ने जेलेन्स्कीको चाहनाको प्रशंसा गरेका छन ।
यसअघि ट्रम्प र जेलेन्स्कीको विवादपछि युरोपेली नेताहरू युक्रेनको पक्षमा उभिएका थिए । जेलेन्स्कीको वक्तव्यमा ट्रम्पसँग क्षमायाचना भने गरिएको छैन । अमेरिकी राष्ट्रपतिका निकट व्यक्तिहरूले जेलेन्स्कीले माफी माग्नुपर्ने बताउँदै आएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै जेलेन्स्कीको पत्र प्राप्त भएको र युक्रेनमा युद्ध अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताउनुभएको छ । ट्रम्पले जेलेन्स्कीको पत्र पढ्दै युक्रेन दिगो शान्तिका लागि चाँडै वार्तामा बस्न तयार भएको बताएका हुन ।