समाचार | Page 6 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निरन्तर अग्रता

काठमाडाैं । जुम्लाको जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही निरन्तर अघि बढेका छन् । शाहीको १०९९२ मत रहँदा ७०१५ भोटसहित नेकपाका नरेश भण्डारीले पछ्याइरहेका छन् ।

कांग्रेसका दीपबहादुर शाही ४३५२ मतसहित तेस्रो स्थानमा छन् । एमालेका शान्तिलाल महत ३६५५ सहित चौथो स्थानमा रहँदा रास्वपाकी विनिता कठायत २६१ मतसहित छैटौं स्थानबाट उक्लिन बल गरिरहेकी छन् ।

सुदूरपश्चिममा एमालेले खाता खाेल्याे, बझाङमा ऐन महर निर्वाचित

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।

महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन्।

मध्यपूर्वको अवस्था नियन्त्रण बाहिर जानसक्ने संयुक्त राष्ट्रसंघका प्रमुखको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार मध्यपूर्वको अवस्था कसैको नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिनुभएको छ ।

मध्यपूर्वको बारेमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघका प्रमुखले अब लडाइँ रोक्ने र गम्भीर कूटनीतिक वार्तामा लाग्ने बेला आएको महासचिवको भनाइ उद्धृत गर्दै उहाँका प्रवक्ता स्टेफेन दुजारिकबले बताउनुभयो ।

महासचिवले अवस्था नियन्त्रण बाहिर जान सक्ने बताउनुभयो । उहाँले अब लडाइँ रोक्ने र गम्भीर कूटनीतिक वार्तामा लाग्ने बेला आएको बताउनुभयो ।

चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने ३९ हजार मतान्तरले विजयी

काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ र नेकपा एमालेका अश्विन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।

लामिछानेको यो ह्याट्रिक जित हो । २०७९ को निर्वाचनमा ४९ हजार तीन सय र उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो ।

२०४६ साल यताका सबै भ्रष्टाचारका फाइल खोल्छौँ : विराजभक्त श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले २०४६ सालयताका सबै भ्रष्टाचार प्रकरणहरुको फाइल खोलेर देशलाई न्याय दिने उद्घोष गर्नुभएको छ । शुक्रवार विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।

उहाँले आफ्नो जितलाई पदभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनुभयो ।  निकटतम प्रतिद्वन्द्वीभन्दा अत्याधिक फराकिलो बढी मत ल्याएर विजयी हुनुभएका श्रेष्ठले यो जित सुशासन, भ्रष्टाचार अन्त्य र परिवर्तनको पक्षमा जनताले दिएको बलियो जनादेश भएको प्रस्ट पार्नुभयो । देशभर देखिएको रास्वपाको लहर र जनताको उत्साहजनक समर्थनबारे बोल्दै उहाँले यो आम नागरिकको परिवर्तनप्रतिको चाहना भएको बताउनुभयो ।

आगामी योजना र संसदमा खेल्ने भूमिकाबारे स्पष्ट पार्दै उहाँले अबको प्रमुख दायित्व नीतिगत सुधार हुने बताउनुभयो । अनावश्यक नीतिहरू खारेज गर्ने, भएका नीतिलाई परिमार्जन गर्ने र आवश्यक नयाँ नीतिहरू निर्माण गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने संकेत गर्नुभयो । सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै उहाँले देश बनाउने काम कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण नेपालीको सामूहिक जिम्मेवारी भएको बताउनुभयो ।

त्यसैगरी, पुराना राजनीतिक दलहरूप्रति टिप्पणी गर्दै श्रेष्ठले उनीहरूको विगतको लोकतान्त्रिक योगदानको कदर गर्नुभयो । पुराना दलहरूले अहिलेको जनमत र नतिजालाई स्वीकार गरेको भन्दै उहाँले अहिलेसम्मको अनुभव र विशेषगरी राजनीतिमा ‘के गर्नु हुँदैन’ भन्ने सिकाइ हाम्रो नयाँ पुस्ता र समग्र देशका लागि मार्गदर्शन बन्ने बताउनुभयो ।

मतगणना अपडेट : १४५ स्थानमा मतगणना जारी, १०२ स्थानमा रास्वपाकाे अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म १५ क्षेत्रमा विजयी भएकोे छ । बिहान ६ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १०२ निर्वाचन क्षेत्रमा अग्रता हाँसिल गरिरहनुभएको छ ।

आयोगका अनुसार रास्वपाबाट मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी, मोरङ ६ मा रुविना आचार्य, धनुषा ३ मा मनिषा झा, काठमाडौँ १ मा रन्जु न्यौपाने, काठमाडौँ ३ मा राजुनाथ पाण्डे, काठमाडौँ ४ मा पुकार बम, काठमाडौँ ५ मा सस्मित पोखरेल, काठमाडौँ ७ मा गणेश पराजुली, काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ ९ मा डोलप्रसाद अर्याल, काठमाडौँ १० मा प्रदीप विष्ट, कास्की क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल, कास्की ३ मा बिना गुरुङ, रुपन्देही ४ बाट कन्हैया बानियाँ र बाँके १ मा सुरेशकुमार चौरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हालसम्म २५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १४५ निर्वाचन क्षेत्रमा मतगणना भइरहको छ ।

नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ । मनाङ १ मा कांग्रेसका टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली र दैलेख १ मा बासना थापा विजयी हुनुभएको छ । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि छन् ।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व १ बाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भइसक्नुभएको छ । नेकपाका उम्मेदवार जारी मतगणनामा ११ क्षेत्रमा अग्रस्थानमा रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट बाँके निर्वाचन क्षेत्र नं १ मा मोहम्मद इश्तियाक राई विजयी हुनुभएको छ । एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अगाडि हुनुहुन्छ ।

श्रम संस्कृति पार्टीका उम्मेदवार तीन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा अगाडि हुनुहुन्छ ।

२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि

काठमाडाैं । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने २२ हजार १ सय २१ मतले अगाडि रहेका छन् ।

५१ हजार ८ सय ३० मत गणना हुँदा लामिछानेले ३० हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले ८ हजार ४ सय ४४ मत ल्याएकी छिन् ।

तेस्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे रहेका छन् । उनले ५ हजार २ सय ९७ मत ल्याएका छन् ।

विजयाेत्सव नमनाउन विजयी उम्मेदवारहरूलाई रास्वपाकाे निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विजयी हुने उम्मेदवारहरूलाई विजयोत्सव नमनाउन निर्देशन दिएको छ । चुनाव आउनुमा जेनजी आन्दोलनको भूमिका रहेको र अहिले पनि जेनजी उमेर समूहका छोराछोरी गुमाएका पीडा कम नभएकाले उत्सव नमनाउन रास्वपाले निर्देशन दिएको हो ।

रास्वपा उपसभापति डीपी अर्यालले भने- ‘देशभरिबाट घण्टी चुनाव चिन्ह लिएर आउने उम्मेदवार जित्दै हुनुहुन्छ । निर्वाचित भएपछि अबिर जात्रा गर्ने आफ्ना सुख दुख साट्ने र घरदैलोमा र्‍याली गर्ने चाहना हुन सक्छ । तर यो निर्वाचन आउनमा हाम्रा साना नानी बाबूहरुले, जेनजी उमेर समूहका छोराछोरीले ज्यान गुमाएको पीडा कम हुन सकेको छैन ।’

यस्तै उनले जनताले आफूहरूलाई सरकार बनाएर जनताका लागि काम गर्न म्याण्डेट दिएको उल्लेख गर्दै काम गरेपछि घरदैलोमा गएर धन्यवाद दिन सकिने बताए ।

उनले मतगणनास्थलमा मात्र धन्यवाद दिन र बाहिर कुनै पनि र्‍याली र अबिर जात्रा नगर्न नगराउन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाट नै निर्देशन भएको स्मरण गराए ।

झापा-५ मा फराकिलाे मतान्तरले बालेन शाहकाे अग्रता

काठमाडाैं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गर्नु भएको कार्यालयले जनाएको छ ।

कालीकाेट-१ मा नेकपाका महेन्द्र शाही विजयी

काठमाडाैं । कालीकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार शाहीले ११ हजार ३ सय ३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३ सय ५२ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार ९ सय ३३ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार १ सय ३७ मत तथा नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५ सय ९७ मत प्राप्त गरेका छन्।

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

काठमाडाैं । दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कूल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८,१५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४,२५६ मत,राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित

काठमाडाैं । काठमाडौँ-९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ ।

रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहनुभएका अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गर्नुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई निर्वाचित

काठमाडाैं । बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गर्नुभएको छ ।

माेरङ-६ मा रास्वपाकी रूबिना आचार्य विजयी, कांग्रेसका शेखर काेइराला पराजित

काठमाडाैं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

काठमाडाैं-३ मा राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।

झापाकाे पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे अग्रता

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन् ।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गर्नुभएको छ । शाहले ओलीलाई १० हजार ६४३ मतले पछि पार्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गर्नुभएको छ । पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पार्नुभएको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच आठ हजार ७४० मतान्तर रहेको छ । यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसाईले ९०९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गर्नुभएको छ । रासस