समाचार | Page 11 of 5894 | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

समाचार

रास्वपा सभापति लामिछानेद्वारा मतदान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । बिहीवार बिहान सभापति लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्रको सुन्दरता नै निर्वाचन प्रणाली भएको भन्दै निर्वाचन परिणाम स्वीकार्नुको विकल्प नभएको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको जगमा विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा सहभागि भई सही नेतृत्व चयन गर्न समेत सबैमा अपिल गर्नुभयो । उहाँले जेन–जी पुस्ताको माग सम्बोधन गर्न अग्रसर हुने पहिलो पार्टी रास्वपा भएको दाबी पनि गर्नुभयो ।

उहाँ चितवन–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएको छ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

रास्वपा वरिष्ठ नेता बालेन्द्र साहद्वारा काठमाडौंबाट मतदान

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मतदान गर्नुभएको छ । बिहीवार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिएपनि उहाँको मतदाता नामावली काठमाडौंमै छ । रास्वपाले बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ ।

बालेन पहिलो पटक प्रतिनिधि सभाको चुनावमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराद्वारा मतदान

काठमाडाैं । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदान गर्नुभएको छ । बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानमा सहभागि हुन सबै मतदातामा अपिल गर्नुभयो । उहाँले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै भयरहित ढंगले निर्वाचन प्रक्रियामा सहभागि हुन अपिल गर्नुभयो ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।

देशभर शान्तिपूर्णरूपमा मतदान जारी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचअन्तगर्त मुलुकभर मतदान शुरु भएको छ ।  बिहान ७ बजेदेखि मतदान शुरु भएकोमा अपराह्न ५ बजेसम्म भोट खसाल्न पाइनेछ । आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

मतदान गर्न जाँदा के–के कागजात लैजाने ? यस्तो छ मतदान गर्ने सही तरिका

काठमाडाैं । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ ।  सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले  मतदाताहरुको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा स्पष्ट जानकारी गराउनुभएको हो ।

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरुमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता चट्टराईले बताउनुभयो ।

मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्नेछ । यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ । त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ ।

प्रत्यक्षतर्फ मतदान गरेलगत्तै मतदातालाई समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइने प्रवक्ता भट्टराईले बताउनुभयो । जसमा आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई अर्को मतपेटिकामा खसाल्नुपर्नेछ । भीडभाड कम गर्न र सहजताका लागि मतदान केन्द्रमा प्रवेश गर्ने र बाहिर निस्कने छुट्टाछुट्टै ढोकाहरुको व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२ : बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

काठमाडौं । आज फागुन २१ गते अर्थात् राष्ट्रिय पर्वकाे रूपमा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुन लागेकाे हाे ।

मतदानका लागि तोकिएका सबै मतदान केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयाेगले जनाइएको छ । आयाेगले मतदातालाई आफ्नो मतदाता परिचयपत्र वा सरकारले मान्यता दिएको परिचयपत्रसहित तोकिएको केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरेकाे छ ।

शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको आयाेगकाे भनाइ छ । निर्वाचनमा सहभागी भएर शतप्रतिशत भतदान गर्न आयाेगले सबै मतदातालाई आग्रह गरेकाे छ ।

बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी (आज) बुधवार राती १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुनेछन् । आयोगले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सवारीसाधन सञ्चानलमा रोक लगाउन सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधवार राति १२ बजेदेखि बिहीवार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालन गर्न नपाइने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सूचना अधिकारी घिमिरेकाअनुसार अतिआवश्यक सेवाका सवारी एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारीसाधन, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीसाधनहरू सञ्चालन गर्न पाइनेछ ।

साथै कुटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन र निर्वाचन आयोग तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ । सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई आफ्ना गन्तव्यमा पुग्नुपर्ने भए सवारीसाधन बन्द हुनुअगावै पुगिसक्न सूचना अधिकारी घिमिरेले आग्रह गर्नुभयो ।

आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

निर्वाचनका लागि तीन घेराको सुरक्षा व्यवस्था : तीन हजार ६ सय ८० मतदान स्थल ‘अति संवेदनशील’

काठमाडाैं । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिनुभएको हो ।

आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ । विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै ३ हजार ६ सय ८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४ सय ४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।

सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको स्पष्ट पार्नुभयो । मतदान स्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रवन्ध मिलाइएको छ । जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्री घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ ।

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडाैं । निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न आम मतदातालाई अपिल गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष (फ्रि एण्ड फेयर) बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले मतदातालाई अल्छी नगरी मतदान केन्द्रमा जान आग्रह गर्नुभएको हो ।

योग्य उम्मेदवार छनोट गर्न र देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उहाँको भनाइ छ । आयुक्त जबराले निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवाला सबैलाई आ–आफ्नो ठाउँबाट अनुशासित र बफादार भएर जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । निर्वाचनको समयमा एकआपसमा झैझगडा, आरोप–प्रत्यारोप नगर्न र शान्तिपूर्ण वातावरण कायम राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल बनाउन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदातालाई निर्धक्क भएर योग्य नेतृत्व चयन गर्न आह्वान गर्दै आएको छ ।

निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्किने यात्रुको चाप

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किने नागरिकहरुको क्रम तिब्र रुपमा बढेको छ । अहिले काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् ।

नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको छ । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरुले थप बसहरुको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरुले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ ।

ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरुमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरु स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।

निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरुमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरु पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सरकारले बुधवार राति १२ बजेबाट अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । १२ अघि नै गन्तव्यमा पुगिसक्न आग्रह गरिएको छ ।

मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैन : मौसम विभाग

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताउनुभएको हो ।

उहाँले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोही अनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताउनु भयो । उहाँले लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताउनुभयो ।

उहाँका अनुसार मतदानको दिन बिहीवार वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । उहाँले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । आउँदो शनिवारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

एजेन्सी । लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले विशेष गरी हिजबुल्लाह समूहलाई आफ्ना हतियारहरू राज्यका संस्थाहरूलाई सुम्पन आह्वान गर्नुभयो ।

लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचा बाहिर लेबनानी क्षेत्रबाट शुरु गरिएका कुनैपनि सैन्य वा सुरक्षा कार्यहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको बताउनु भयो । जसमा कुनै अस्पष्टता वा व्याख्याको ठाउँ नरहेको बताउनुभयो । हिजबुल्लाहको सशस्त्र गतिविधिले राज्यको अधिकारमाथि उल्लङ्घन गरेको घोषणा गर्दै मन्त्रिपरिषद्ले सुरक्षा निकायहरूलाई उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्न र लेबनानी क्षेत्रबाट रकेट वा ड्रोन प्रक्षेपण रोक्न आदेश दिएको छ ।

इरानी रेड क्रिसेन्टकाअनुसार पछिल्लो समय आक्रमण शुरु भएदेखि कम्तिमा ५ सय ५५ जनाको मृत्यु भएको छ । यसैबीच म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार इजरायलमा १० जनाको मृत्यु भएको छ ।

दबाब वा प्रभावमा नपरी निर्धक्क भएर मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रवन्ध मिलाइएको स्पष्ट पारेको छ । विगतका अभ्यासहरुलाई समेत मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा सुरक्षा चुनौतीका विषयमा आएका अतिरञ्जित र भ्रामक सूचनाहरुप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता हल्लाहरुमा सत्यता नरहेको प्रष्ट पारेको छ । सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिएको र सुरक्षा मन्त्रालयहरुमार्फत भरपर्दो व्यवस्था मिलाइएकोले मतदाताहरु त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आयोगले मतदाताहरुलाई कुनै पनि डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रमा जान र आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरेको छ ।

शान्ति सुरक्षाको अवस्था मजबुत रहेकोले मतदान गर्न जानका लागि कुनैपनि प्रकारको अवरोध नरहेको आयोगको भनाइ छ ।

उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह

काठमाडाैं । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ ।  निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उहाँले सही उम्मेदवार छनोट गर्न सुझाव दिनुभएको हो ।

मतदातालाई सचेत गराउँदै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेदवारले मतदाताको महत्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्नसक्ने हैसियत राख्छ कि राख्दैन भन्नेकुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उम्मेदवारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्नेकुरामा आफू पूर्णरुपमा विश्वस्त भएपछि मात्रै उम्मेदवारलाई ‘फिल्टर’ गरेर भोट हाल्न उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चारमाध्यमको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनु भयो । सञ्चारमाध्यमले भ्रम, अफवाह र गलत सूचनाहरुलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सञ्चारकर्मीहरुलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गर्नुभयो ।

निर्वाचनमा खसालिने एउटा मत केवल प्राविधिक प्रक्रिया मात्र नभई मतदातामा अन्तर्निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको बताउनुभयो ।

मतदान गर्न नागरिक गृहजिल्ला फर्किएपछि काठमाडाैंकाे सडक सुनसान

काठमाडाैं । आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।  सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ ।

दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या उल्लेख्य रहेको छ । नयाँ बसपार्क, कोटेश्वर, कलंकी, र बल्खु लगायतका नाकाहरुबाट विगत केही दिनयता दैनिक हजारौंको संख्यामा यात्रुहरु बाहिरिएका छन् ।

निर्वाचन आयोगले मतदानको लागि सार्वजनिक बिदा दिएको र धेरैजसो विद्यालय, कलेज तथा कार्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र कर्मचारीहरु गाउँ फर्किएका हुन् । सार्वजनिक यातायात कम चल्दा उपत्यकामै रहेका र अत्यावश्यक काममा निस्कनुपर्ने नागरिकलाई भने आवतजावतमा केही सास्ती भएको छ । मतदान सम्पन्न भएर सार्वजनिक बिदा सकिएपछि मात्रै उपत्यकामा पुनः चहलपहल बढ्ने र जनजीवन सामान्य अवस्थामा फर्किने अनुमान छ ।

इरानमाथिको अमेरिकी आक्रमण पाँच साता लामो हुनसक्छ : राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताउनुभएको छ।

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताउनुभयो ।

यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताउनुभएको थियो ।