राजनीति

भारत भ्रमणमा सीमा विवाद विषय नउठेपछि काँग्रेसले भन्यो, ‘प्रधानमन्त्रीको दोहोरो चरित्र उदाङ्गियो ’

काठमाडौँ ।

नेपाली काँग्रेसले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको आपत्ति जनाएको छ ।शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति अहिले कुटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उहाँको भनाई छ ।

सीमा विवादको विषयलाई प्रवेश नै नगराई फर्कनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको उहाँको दाबी छ । विगतमा प्रधानमन्त्री साहले सीमा सम्बन्धी अभिव्यक्तिलाई लोकप्रियता हासिल गर्ने उद्देश्यले गरेको राष्ट्रवादको प्रदर्शन मात्रै रहेको पुष्टी भएको उहाँले बताउनु भयो ।उहाँले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र विशिष्ट रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना भएपनि सीमा लगायतका संवेदनशील विषय लामो समयदेखि समाधान हुन नसकेको बताउनु भयो । यस्ता विषयको समाधान एकपटकको भ्रमण वा बैठकबाट सम्भव नहुने भन्दै उहाँले निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री भारत भ्रमणका क्रममा भएका कतिपय सहमतिहरु सकरात्मक रहेकोले त्यसलाई कार्यन्वयनमा ल्याउन जोड दिनुभयो ।

Related Post
Share

This website uses cookies.