राजनीति

ईन्द्र बानियाँमाथी अनावश्यक प्रतिशोध साँध्न खोजियोः काँग्रेस

काठमाडौँ ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं वागमती प्रदेशका काँग्रेस सभापति ईन्द्र बानियाँलाई अनावश्यक विवादमा मुछ्न खोजेको आरोप लगाउनुभएको छ । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो आरोप लगाउनु भयो । महामन्त्री पौडेलले अनुमानको र हल्लाको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताउनु भयो । तर पछिल्लो समय सरकारले राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक आवद्धताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखाएको आरोप लगाउनु भयो । कानूनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उहाँले अपराधमा संलग्न जोसुकै व्यक्ति जुनसुकै राजनीतिक दल वा शक्तिसँग आवद्ध भएपनि कानूनी प्रक्रियामा आउनुपर्ने बताउनु भयो । तर सरकारको विरोधी भएकै आधारमा अपराध नगरेको व्यक्तिलाई जबर्जस्ती अनुसन्धानको दायरामा तान्नु र सरकारनिकट व्यक्तिलाई संरक्षण गर्नु राज्यशक्तिको दुरुपयोग भएको उहाँको भनाई छ । उहाँले काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँमाथि भएको व्यवहारलाई समेत चयनात्मक अनुसन्धान भएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीको सचिवालय र मुख्य सल्लाकारसँग जोडिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का अन्त्य प्रकरण तथा हिरासतमा रहेका व्यक्तिको मोबाइल कब्जा प्रकरणमा सरकारले अनुसन्धान नै नगरेको आरोप लगाउनु भयो ।

उहाँले हिरासतमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि आपत्ति जनाउनुभयो । हिरासतमा रहेका व्यक्तिलाई अनावश्यक रुपमा दबाब दिएर आफूअनुकुल बयान दिन लगाएको घटना सार्वजानिक भएको उल्लेख गर्दै उहाँले यस्तो कार्य राज्यशक्तिको गम्भिर दुरुपयोग भएको बताउनु भयो । सरकारले आफ्ना राजनीतिक विरोधीमाथि कानून प्रयोग गर्ने र निकटस्थलाई संरक्षण गर्ने नीति लिएको उहाँको भनाई छ । उहाँले राज्यका निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र दोषी देखिएका जोसुकैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।सरकारको संविधान, संसद, विधिको शासन र राज्यका निकायमाथिको हस्तक्षेप नरोके काँग्रेस अब मौन नरहने उहाँले बताउनु भयो । नयाँ नेतृत्वको अनुभव अभावका रूपमा बुझेर कांग्रेसले संयमता अपनाएपनि सरकारका पछिल्ला गतिविधिले ती कमजोरी सामान्य नभई नेतृत्वको सोच, चरित्र र प्रवृत्तिसँग जोडिएको आशंका उत्पन्न भएको उहाँको भनाई छ ।

काँग्रेसले पछिल्लो समय संसद्लाई छलेर ल्याएका अध्यादेशहरु पनि फिर्ता गर्न माग गरेको छ । काँग्रेसले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । त्यस्तै, काँग्रेसले संसदको अधिवेशन आह्वान गर्न तथा संवैधानिक सीमा र संस्थागत मर्यादा पूर्ण रूपमा पालना गर्न सरकारसँग माग गरेको छ ।काँग्रेसले सरकारले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अंगमाथि हस्तक्षेप र नियन्त्रणको प्रयास गरिरहेको पनि आरोप लगाएको छ । राष्ट्रपति जस्तो संवैधानिक संस्थाको गरिमामा समेत प्रधानमन्त्री बालेन्द्र साहले अवमूल्यन गर्ने गरेको काँग्रेसको आरोप छ ।

Related Post
Share

This website uses cookies.