विश्व

घानामा साइबर अपराध बढ्दै, नौ महिनामै २० करोड ९० लाख सेडी बराबरको आर्थिक क्षति

घानामा साइबर अपराधका घटना बढ्दै गएपछि त्यहाँका साइबर सुरक्षा अधिकारीले डिजिटल अर्थतन्त्रसँग सम्बन्धित सेवा प्रदायकहरूलाई सुरक्षा व्यवस्था बलियो बनाउन आग्रह गरेका छन् । घानाको साइबर सुरक्षा प्राधिकरणका साइबर सुरक्षा प्रविधि मापदण्ड प्रमुख जेक फ्रान्सले मंगलबार यस्तो आग्रह गर्नुभएको हो । राजधानी आक्रामा आयोजित ‘टेक इन घाना आक्रा २०२६’ सम्मेलन तथा प्रदर्शनीको उद्घाटनका क्रममा उहाँले प्रविधि क्षेत्रको विस्तारसँगै साइबर सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार अनलाइन ठगी तथा साइबर अपराधका कारण घानाका सर्वसाधारण र व्यवसायीहरूले बढ्दो आर्थिक क्षति व्यहोर्नुपरेको छ । फ्रान्सले सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म घानामा ४ हजार ९३८ वटा साइबर अपराधका घटना दर्ता भएको जानकारी दिनुभयो । ती घटनाबाट करिव २० करोड ९० लाख घाना सेडी अर्थात १ करोड ७६ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको उहाँले बताउनु भयो । सन् २०२५ को पूरै वर्षमा ४ हजार ६०४ वटा साइबर अपराधका घटना दर्ता भएका थिए । यसले चालु वर्षको नौ महिनामै अघिल्लो वर्षको तुलनामा घटना संख्या बढेको देखाएको छ ।

यद्यपि, साइबर अपराधबाट पीडित भएका कतिपय व्यक्तिले विभिन्न कारणले उजुरी नगर्ने भएकाले वास्तविक घटना संख्या अझ बढी हुनसक्ने फ्रान्सको भनाइ छ । उहाँले डिजिटल अर्थतन्त्रको विस्तारसँगै बलियो सुरक्षा प्रणाली पनि आवश्यक रहेको उल्लेख गर्दै साइबर सुरक्षालाई आर्थिक गतिविधिको संरक्षण र सार्वजनिक विश्वास कायम राख्ने लगानीका रूपमा बुझ्नुपर्ने बताउनु भयो । यसैगरी, घानाको केन्द्रीय बैंकका फिनटेक अधिकारी कार्ल आसीले सन् २०२५ मा मोबाइल फोनमार्फत ४५ खर्ब ४० अर्ब घाना सेडी बराबरको कारोबार भएको जानकारी दिनुभयो । उहाँकाअनुसार घानामा मोबाइल मनीमार्फत दैनिक औसत १२ अर्ब घाना सेडीभन्दा बढीको कारोबार हुने गरेको छ । डिजिटल वित्तीय कारोबारको बढ्दो आकारलाई ध्यानमा राख्दै साइबर सुरक्षा अझ महत्वपूर्ण बन्दै गएको उहाँले बताउनु भयो ।

Related Post
Share

This website uses cookies.