देश/समाज

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा, विश्वविद्यालय प्रवेश परीक्षामा अव्यवस्थाको जिम्मेवारी लिए

दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो जिनले विश्वविद्यालय प्रवेश परीक्षामा नक्कल रोक्ने उपाय कार्यान्वयनका क्रममा देखिएको अन्योल र अव्यवस्थाको जिम्मेवारी लिँदै राजीनामा दिनुभएको छ । राष्ट्रपति ली जे म्युङले उहाँको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । सन् २०२७ को कलेज स्कोलास्टिक एबिलिटी टेस्ट (सीएसएटी) मा नक्कल रोक्न परीक्षा हुनुभन्दा केही समयअघि विभिन्न नियम परिवर्तन गरिएपछि परीक्षार्थी र सर्वसाधारणमा अन्योल सिर्जना भएको थियो । शिक्षामन्त्री चोइले आइतवार जारी गर्नुभएको वक्तव्यमा तयारीमा कमजोरी भएको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिनुपर्ने बताउनुभएको छ । उहाँले जिम्मेवार मन्त्रीका रूपमा तयारीमा भएको कमजोरीप्रति उठेको आलोचनाबाट आफू पन्छिन नसक्ने भन्दै पदबाट राजीनामा दिने निर्णय गरेको उल्लेख गर्नुभएको छ । दक्षिण कोरियामा गत नोभेम्बर १९ मा सम्पन्न उक्त परीक्षामा करिब पाँच लाख ५० हजार परीक्षार्थी सहभागी भएका थिए । यसअघि करसम्बन्धी लेखापालको योग्यता परीक्षामा एआई प्रविधियुक्त उपकरण प्रयोग गरी नक्कल गरिएको घटना सार्वजनिक भएपछि प्रवेश परीक्षाको निष्पक्षतामाथि चिन्ता बढेको थियो । स्मार्ट चस्मा र सुक्ष्म क्यामेराजस्ता उपकरण प्रयोग गरेर हुन सक्ने नक्कल रोक्न सरकारले परीक्षा हुनुभन्दा केही समयअघि कडा जाँचका उपायहरू लागू गरेको थियो । परीक्षार्थीका विद्युतीय उपकरणको जाँच कडा बनाउने, चस्मा निरीक्षण गर्ने, कपडाका बटनमा स्टिकर टाँस्ने तथा केही परीक्षा सामग्री वितरण गर्नेजस्ता व्यवस्था गरिएको थियो । परीक्षाकै दिन मोबाइल फोन बुझाउन छुटेका परीक्षार्थीको पहिचान गर्न देशभरका मोबाइल फोनमा उच्चतम तहको आपत्कालीन सूचना सन्देशसमेत पठाइएको थियो । तर यीमध्ये केही व्यवस्था परीक्षा हुनुभन्दा एक–दुई दिनअघि मात्रै सार्वजनिक गरिएपछि शिक्षा अधिकारीहरूको अन्तिम समयमा गरिएको तयारी र व्यवस्थापनमाथि आलोचना भएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले एआई प्रविधिको विकाससँगै नक्कलका नयाँ तरिका देखिन थाले पनि त्यसलाई नियन्त्रण गर्न शिक्षा प्रशासनले पर्याप्त पूर्वतयारी गर्न नसकेको भन्दै घटनाले सरकारी कमजोरी उजागर गरेको उल्लेख गरेका छन् ।

Related Post
Share

This website uses cookies.