बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि भारतीय अधिकारीहरूले विपद् व्यवस्थापनको तयारी तिब्र पारेका छन् । भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो शुक्रबार मध्याह्नसम्म भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ । यसका कारण प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा हावा चल्ने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ । मौसम विभागले शुक्रबारसम्म दक्षिणपश्चिम, पश्चिम–मध्य र उत्तरपश्चिम बंगालको खाडी क्षेत्रमा माछा मार्न नजान माछा मार्नेहरूलाई आग्रह गरेको छ । चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ७४ वटा उद्धार टोली परिचालन गरिएको छ । साथै, सम्भावित जोखिमबाट बचाउन दुई लाखभन्दा बढी मानिसको पहिचान गरी स्थानान्तरणको तयारी गरिएको छ । ओडिशाको मलकानगिरी जिल्लामा नोभेम्बर १९ र २० गते विद्यालय, कलेज तथा एकीकृत बाल विकास सेवा कार्यक्रमअन्तर्गत सञ्चालित आँगनवाडी केन्द्रहरू बन्द गरिने भएको छ । छिमेकी राज्य आन्ध्र प्रदेशमा माछा मार्ने गतिविधि स्थगित गरिएको छ । त्यहाँ राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का १३ टोली र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का ११ टोलीलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न दुवै राज्यका प्रशासनले उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनका तयारीलाई तिब्र बनाएका छन् ।
This website uses cookies.