देश/समाज

कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैनः विद्यादेवी भण्डारी

काठमाडौँ । 

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरु निरङ्कुश, स्वेच्छाचारि, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाउनुभएको छ । राष्ट्रिय भेलाको दोस्रो दिन बिहीवार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाउनुभएको हो । उहाँले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने बताउनु भयो । संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिन तयार रहेको उहाँको भनाई छ ।  राजनीतिक असहमतिका आधारमा सरकारले व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाएको उहाँको आरोप छ । उहाँले कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताउनु भयो । कानून उल्लङ्घन भएको अवस्थामा निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्ने उहाँको भनाइ छ । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिष्पर्धा र प्रतिपक्षको भुमिकाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उहाँले सरकारलाई संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन आग्रह गर्नुभयो ।उहाँले राजनीतिक दलहरुमा प्रतिसोधनको नभई सहकार्यको भावना जागृत हुनुपर्ने बताउनु भयो ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा राज्यका तीनवटै अङ्गबीचको शक्ति सन्तुलनमाथि प्रश्न उठाएको उहाँको भनाई छ । समयमै यस्ता विषयको समाधान नगरिए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उहाँले चेतावनी दिनुभयो । उहाँले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । संविधानका आधारभूत मान्यता, प्रस्तावना र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी संशोधनका विषय अघि बढाउन नहुने उहाँको धारणा छ ।उहाँले नेपालको संविधान राजनीतिक सहमतिको ऐतिहासिक दस्तावेज भएकोले यसलाई संसोधन गर्न पनि राजनितिक सहमति आवश्यक रहेको बताउनु भयो । संविधानका कतिपय धाराहरु संसोधन गर्न आवश्यक रहेपनि यसको मूल मर्मलाई भने चलाउन नहुने उहाँको भनाई छ ।

Related Post
Share

This website uses cookies.