नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विश्व राजनीतिबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रश्तुत गरेको बताउनुभएको छ ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । दाहालले सम्मेलनमा ७६ देशका राजनीतिक दलका अध्यक्ष, नेता, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको सहभागिता रहेको उल्लेख गर्दै आफूले दुई पटक सम्बोधन गरेको जानकारी दिनुभयो । पहिलो सम्बोधनमा नेपालको राजनीतिक अवस्थाबारे र दोस्रो सम्बोधनमा विश्व परिस्थिति तथा अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टी र नेपालको धारणा प्रस्तुत गरेको उहाँले बताउनु भयो । विश्वमा बढ्दै गएको युद्ध र तनाव, ब्रिक्सको भूमिका, बहुध्रुवीय विश्व व्यवस्थाको विकास, प्यालेस्टाइन र युक्रेनको अवस्थालगायत विषयमा नेपालको दृष्टिकोण स्पष्ट पारेको उहाँको भनाइ छ । उहाँले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले नेपालको धारणा र आफ्नो सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया दिएको पनि बताउनु भयो । कतिपय प्रतिनिधि सम्बोधनपछि आफूलाई भेट्न आएको र अंकमाल गर्दै प्रशंसा गरेको उहाँले उल्लेख गर्नुभयो । दाहालले सम्मेलनमा आयोजकले आफूलाई विशेष महत्व दिएको भन्दै त्यसलाई नेपालको राष्ट्रिय प्रतिष्ठा र कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिखित मन्तव्य प्रश्तुत गरिएको थियो । चीन भ्रमणका कारण पुटिन सहभागी हुन नसके पनि उहाँसँग सम्बन्धित युनाइटेड रसिया पार्टीका अध्यक्षले मुख्य सम्बोधन गर्नुभएको दाहालले जानकारी दिनुभयो । नेपालबाट आफ्नो पार्टीलाई मात्रै निमन्त्रणा गरिएको र आयोजकले दिएको सम्मानले दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तारको अवसर सिर्जना गरेको उहाँको भनाइ छ । उक्त सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
This website uses cookies.